मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी दर्शकमाझ पनि छाउने भएकी छन्। सन् २००० की मिस वल्र्ड तथा गायिका समेत रहेकी प्रियंकाले अमेरिकी च्यानल एबिसीको नयाँ सिरियल ‘क्वान्टिको’मा अभिनय गर्न लागेकी हुन्।
९६ लाख ट्वीटर फलोअर र डेढ करोड फेसबुक फ्रेन्ड बटुलिसकेकी प्रियंकाले बलिउडका ४५ भन्दा बढी फिल्ममा खेलिसकेकी छिन् र उनी बलिउडका महँगा अभिनेत्रीमध्ये एक हुन्। अब उनी संसारमा धेरै चिनिने अभिनेत्री बन्ने तरखरमा पनि छिन्।
३२ वर्षीया प्रियंकालाई दर्शकले टिभीमा हेर्न केही महिना प्रतीक्षा गर्नुपर्ने हुन्छ। ‘क्वान्टिको’मा उनले अमेरिकी गुप्तचर संस्था एफबिआईको एजेन्ट भएर अभिनय गर्नेछिन्।
गायन प्रतिभा र बलिउडको अनुभवका कारण उनले यो अवसर पाएको समाचार नागरिक दैनिकमा छ। सिरियलको ट्रेलर सार्वजनिक भइसकेको छ। एबिसी च्यानलका प्रमुखले प्रियंकालाई ‘एक आदर्श एबिसी स्टार’ भन्दै स्वागत गरिसकेका छन्।