बढी रिस उठ्ने मान्छेले ध्यान दिनु पर्ने कुराहरू…

रिस उठ्दा झट्ट गरिने क्रियाकलापले आफूसँगै अरूलाई पनि हानि गर्न सक्छ। रिस उठेको बखतमा यस्ता काम नगर्नुहोला।

तत्काल नसुत्नुहोस्
रिस उठ्दा हामीमा नकारात्मक भावना उत्पन्न भएको हुन्छ। यसले शरीरमा नकारात्मक ऊर्जा उत्पन्न गराइरहेको हुन्छ। रिसाएको बेला सुत्न गइयो र निदाइयो भने रिसले निरन्तरता पाउँछ र शरीरमा रिसका क्रममा उत्सर्जन हुने हार्मोनको मात्रा बढ्न पुग्छ । यसले शरीरमा अनेक प्रकारका समस्या सिर्जना गर्न सक्छ। त्यही भएर रिस मत्थर भएपछि मात्रै सुत्नु राम्रो मानिन्छ।

गाडी नचलाउनुहोस्
रिस उठेपछि वरिपरिका चिजलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउंछ। हरेक चिजलाई नकारात्मक नजरले हेरिन्छ। रिसाएको व्यक्तिले अधिक गतिमा गाडी चलाउने गर्छ। यसो गर्दा दुर्घटनामा परिने जोखिम बढी हुन्छ।

नखानुहोस्
रिस उठेको बेला सम्यक भोजन गर्न सकिँदैन। रिसाएको बेला मानिसको मन र शरीर दुवैमा यसको असर परेको हुन्छ। यस्तो अवस्थामा भोजन गरियो भने या त बढी खाइन्छ या कम। त्यसैले रिस मत्थर भएपछि भोजन गर्नु राम्रो हुन्छ।

बहस नगर्नुहोस्
रिस उठेका वेला सही अथवा गलत छुट्याउने क्षमतामा ह्रास आउँछ। रिसाएको बेला मानिस तर्कबाट नभई भावनाबाट नियन्त्रित हुन्छ। रिसाएको बेला बहस गर्दा सही कुरालाई पनि गलत भन्ने अथवा अपशब्द प्रयोग गर्ने जोखिम बढी हुन्छ। रिस उठेको बेला बहसमा सहभागी हुँदा कन्सिरी अझ तात्छ। यसले अरूसँगको सम्बन्ध बिगार्न सक्छ।

फुट्ने सामान नबोक्नुहोस्
रिसाएको बेला छेउमा भएका वस्तुमाथि प्रहार गर्ने जोखिम ज्यादा हुन्छ। ऐना, कप, सिसाका सामग्री लगायतको छेउमा रिसाएको बेला नजानु राम्रो हुन्छ। साथै, रिस उठेको बेला हातमा मोबाइल फोन, आइपड, ट्याब, ल्यापटप, नेटबुकजस्ता फुट्ने चिज नबोक्नु राम्रो हुन्छ । किनकि, रिसको झोकमा यस्ता सामग्रीलाई भुइँमा बजारिदिने जोखिम पनि हुन्छ।

निराश नहुनुहोस्
रिसाएको बेलामा निराश भइयो भने यसले अप्रिय परिणाम निम्त्याउन पनि सक्छ। रिसाएको बेला निराश भइयो भने विगत र भविष्यलाई पनि निराश तरिकाले हेर्न पुगिन्छ र अप्रिय निर्णय लिन सकिन्छ। तसर्थ, रिसाएको बेला ‘यो रिस भनेको केही बेरका लागि हो, अहिलेको अवस्था गुज्रेर जान्छ र सबै सामान्य हुन्छ’ भन्ने सोच्नुपर्छ। (नागरिक)





Comments

comments

Leave a Reply

6828