कीर्तिमानी पौडीबाज गौरिका सद्भावनादूत नियुक्त

काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले कीर्तिमानी पौडीबाज गौरिका सिंहलाई सद्भावना दूत नियुक्त गरेको छ। भूकम्पले क्षतिग्रस्त सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको अभियानमा उनले सघाउने छिन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानले १२ बर्षिया गौरिकालाई आफ्नो सद्भावनादूत नियुक्त गरेको हो। सद्भावनादूत नियुक्त भएसँगै गौरिकाले २०औं राष्ट्रिय पौडी प्रतियोगीताका ६ स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाए वापत प्राप्त गरेको रु ३० हजार पुरस्कार रकम शान्तिशिक्षा अभियानलाई भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुननिर्माण कार्यकालागि हस्तान्तरण गरिन्। सोहि अवसरमा गौरिकाकी आमा गरिमा राणा सिंहले पुरस्कार बराबरकै रकम कोषमा थप गर्ने घोषणा गरिन्। सो रकम संस्थाले सामुदायिक विद्यालयहरुको पुनर्निर्माणको लागि खडा गरेको कोषमा जम्मा गरिने संस्थाका अध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए

सद्भावनादूत नियुक्त भएपछि गौरिकाले भूकम्पपछि पुनर्निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने उल्लेख गर्दै शान्ति शिक्षा अभियान नेपालको विद्यालय पुननिर्माण कार्यमा आफुले सक्दो सहयोग जुटाउने बताइन् । उनले सबैलाई सहयोगका लागि आग्रह समेत गरिन्।

गौरिकाले सोमबार सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा महिलातर्फ ६ स्पर्धामा सहभागी भई सबैमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन्। गतवर्षको यसै प्रतियोगितामा ८ स्पर्धामा सहभागी उनले सबैमा स्वर्ण पदक जितेकी थिइन्।

सोहि कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले गौरिका ओलम्पिक छात्रवृत्तिको लागि छनौट भएको बताए। “हालै गएको भूकम्पले निम्त्याएको विनाशपछिको अवस्थामा सामुदायिक विद्यालय पुनर्निर्माण गर्ने हाम्रो अभियानमा गौरिका सिंहजस्ती प्रतिभावान बालिका जोडिन लागेकोमा हामी हर्षित छौं,” शान्ति शिक्षा अभियानका अध्यक्ष रवीन्द्र महर्जनले भने, “यसले हामीलाई अगाडि बढ्न थप ऊर्जा मिलेको छ।”

शान्ति शिक्षा अभियान भौतिक पूर्वाधार निर्माण, स्तरोन्नति, शिक्षक तालिम तथा स्वयंसेवक परिचालन गरी सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्ने कार्यमा लागिरहेको छ । महर्जनका अनुसार पछिल्लो चार वर्षमा संस्थाले भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम अनुसार जिल्लाका २३ गाविसका २६ विद्यालयमा सम्पन्न गरिसकेको छ। त्यस्तै ललितपुर तथा काठमाडौंमा १६ गाविसका ८६ विद्यालयका २५० प्राथमिक तहका शिक्षक–शिक्षिकालाई बालमैत्री वातावरणमा शिक्षण गर्ने विधिसम्बन्धी तालिमसमेत दिएको छ । संस्थाले ९ विद्यालयमा २५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवकपनि परिचालन गरिसकेको छ।

भूकम्पपछि संस्थाले टुँडिखेलमा अस्थायी आश्रय लिइरहेका बालबालिका लक्षित Arts and Craft कार्यक्रम सञ्चालन गरेको थियो । “हामीले यस अगाडि सहकार्य गरेका करीब सय विद्यालयमध्ये क्षतिग्रस्त ९० विद्यालयका भवन पुनर्निर्माणमा यथासक्य सहयोग गर्ने लक्ष्य राखेका छौं,” अध्यक्ष महर्जनले भने, “पुनर्निर्माण अभियानमा हामीलाई सघाउन तयार गौरिकालाई धन्यवाद दिँदै सबैलाई सहकार्यका लागि आह्वान गर्दछु।”





Comments

comments

Leave a Reply

6912