“रैंयाँ” टोलीलाई भव्य स्वागत, चलचित्र हेर्न दर्शकको घुइँचो

पोखरा, मेनोको फिल्म एण्ड मिडिया हाउसको प्रस्तुती मगर संस्कृतिमा आधारित चलचित्र “रैंयाँ” प्रदर्शन गर्न लेखनाथ पुगेको टोलीलाई अर्घौ मगर समाज लेखनाथमा भव्य स्वागत गरिएको छ।

चलचित्र प्रदर्शनको क्रममा मंगलबार लेखनाथको अर्घौ मगर समाज पुगेको टोलीलाई समाजका सदस्यहरुले एक कार्यक्रमकाबीच भव्य स्वागत गरेका हुन्। चलचित्र निर्माण, निर्देशक कलाकार र पत्रकारसहित पुगेको टोलीलाई खादाका साथै समाजका आमा समुहहरुले आफैले बनाएका हस्तकलाका सामाग्री उपहार स्वरुप प्रदान गरेका थिए।

सोही अवसरमा चलचित्रका निर्माता तथा कथाकार हर्क आलेले मगर महिलाहरुलाई अगाडि बढाउने उद्देश्यले चलचित्र निर्माण गरेको जनाउँदै चलचित्रलाई माया गरेर हेर्दिन आग्रह गर्नुभयो । उक्त अवसरमा लेखनाथ पुन मगर अर्घौ प्रेरणा नौमती बाजा समूहका कलाकारहरुले म्याग्दी र धौलागिरीमा प्रख्यात मगर नृत्य थाल नाथ प्रदर्शन गरेका थिए । अर्घौ मगर समाज लेखनाथका अध्यक्ष नरबहादुर पूर्जा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गंगा पूर्जा मगरले गर्नुभएको थियो।

अर्घौ मगर समाज लेखनाथमा प्रदर्शन गरिएको चलचित्र हेर्न दर्शकको अत्यधिक चाप रहेको थियो । दर्शकहरुले राति अबेरसम्म बसेर भएपनि चलचित्र हरेका थिए । चलचित्र प्रदर्शन पछि दर्शकको प्रतिक्रियाले थप उत्साह मिलेको र चलचित्रले दर्शकको मन छुन सकेकोमा आफूलाई गर्व लागेको निमार्ता तारा थापा मगरको भनाइ छ । यसैगरी दर्शकको माग र चाहना अनुरुप पोखरामा पुनः प्रदर्शन गरिने पनि थापाले बताउनुभयो।

जेठ २ गते पोखरा सभागृहमा विशेष प्रदर्शन भएपछि जेठ ९ गते तनहुँको दमौलीमा, १५ गते साँघे, १६ गते थर्पु, ३० गते खैरेनी प्रदर्शन गरिएको थियो । यसैगरी तनहुको भिमादमा असार ५ गते भिमाद र असार १२ गते दुलेगौंडा, पाल्पा रामपुर १९ गते, र कास्की अर्घौचोक साउन १ गते प्रर्दशन गरिने निर्माता तारा थापा मगरले बताउनुभयो।

मेकहादुर पुन (मेजान) ले निर्देशन गर्नुभएको चलचित्रको निर्माता हर्क आलेमगर, तारा थापा मगर रहनुभएको छ भने हर्क आले मगरको कथामा रहेर उक्त चलचित्र निर्माण गरिएको छ । मगर महिलाको सुन्दरता, पवित्रता र अस्तित्व अनि आत्मरक्षाको कवज मानिएको गहना “रैंयाँ” भएकोले मगर महिलाको विषयमा केन्द्रित रहेर उक्त चलचित्र निर्मात गरिएको निर्माता तारा थापा मगरले बताउनुभयो । थापा मगरले चलचित्रमा महिलालाई मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको बताउँदै चलचित्र “रैंयाँ” मा मगरहरुलाई एकजुट हुन प्रेरित गरिइएको बताउनुभयो।

चलचित्रको छायाङ्कन तनहुँको भिमाद, मिछुर्लुङ, कास्कीको धम्पुस टाईगर टप लगायतका ठाउँहरुमा गरिएको निर्माता तथा कथाकार हर्क आलेमगरले जानकारी दिनुभयो । चलचित्रमा सञ्चारकर्मी प्रिया थापामगर र अशोक आले मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा तारामाया थापामगर, मिन पुर्जा पुन मगर, दुर्गा ठाडामगर, पूर्ण थापा मगर (सुगा), अनिता थापामगर, गगन पुन मगर रहेका छन्।





Comments

comments

Leave a Reply

7026