मिस पूर्वाञ्चल भेडेटारको सद्भावनादूत

गोपाल दाहाल / एचकेनेपाल डट कम –
सुनसरी, पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारको पर्यटन सद्भावना दूतमा मिस पूर्वाञ्चल २०१५की विजेता प्रियंका श्रेष्ठलाई नियुक्त गरिएको छ।

भेडेटारमा आयोजित कार्यक्रममा मिस पूर्वाञ्चल श्रेष्ठलाई होटल एसोसिएसन भेडेटारले भेडेटारको पर्यटन प्रवद्र्धनकालागि सद्भावना दूत नियुक्त गरेको हो। नयाँ सद्भावना दूत घोषणा भएपछि खुसी व्यक्त गर्दै प्रियंकाले भेडेटारको पर्यटन प्रवद्र्धनमा प्रचारात्मक काम गर्ने बताईन् । उनले भनिन् ‘भेडेटारको सद्भावना दूत हुन पाउँदा खुसी लागेको छ आगामी दिनमा आफू सहभागी हुने हरेक कार्यक्रममा भेडेटारको बारेमा बोल्ने छु।’

कार्यक्रममा अघिल्लो वर्षकी पर्यटन सद्भावना दूत मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङलाई विदाई गर्दै श्रेष्ठलाई नियुक्त गरिएको हो। कार्यक्रममा बोल्दै अघिल्लो वर्षकी सद्भावना दूत नेमिताले सद्भावना दूतको समय सकिएपनि आफू भेडेटारको पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहने बताईन्।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावतीले प्रियंकालाई सद्भावना दूत नियुक्तिको प्रमाणपत्र र नेमितालाई नगदसहित सम्मानपत्र प्रदान गरे। भेडेटार गाविसका सचिव नारायणप्रसाद खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिस पूर्वाञ्चलका विजेता प्रियंका, फस्टरनर अप अनु राई, सेकेन्डरनरअप प्रमिशा बज्राचार्य, मिस क्याटवाक सरुपा थापा मगर, मिस फ्रेन्डशीप मिशाल श्रेष्ठ तथा सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा बोल्दै मिस पूर्वाञ्चलका क्रियटिभ डाईरेक्टर राजेन्द्र रिमालले पूर्वको पर्यटकीय स्थल भेडेटारको प्रवद्र्धन गर्न मिस पूर्वाञ्चल विजेतालाई हरेक वर्ष सद्भावना दूत घोषणा गर्ने गरिएको र आगामी दिनमा भेडेटारको पर्यटन प्रवद्र्धन गर्न टेलिभिजन कार्यक्रम उत्पादन गर्ने बताए।

कार्यक्रममा मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेन्मेन्टले प्रकाशन गरेको क्यालेन्डरसमेत सार्वजनिक गरियो । भेडेटारको पर्यटन प्रवद्र्धन गर्न गत वर्षदेखि मिस पूर्वाञ्चल विजेतालाई भेडेटारको सद्भावना दूत नियुक्त गरेपछि भेडेटारको पर्यटन विकासमा सहयोग पुगेको होटल एसोसिएसन भेडेटारका सचिव जीतेन्द्र रुम्दालीले बताए।

तस्वीर सौजन्यः दिलिप रिनोहोङ





Comments

comments

Leave a Reply

7089