भूकम्पपीडितलाई बेलायतका नेपाली सेफहरुबाट सहयोग

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन। बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भूकम्पपीडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैंया सहयोग पुर्‍याएको छ।

सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहात तथा उद्दार कोषमा जम्मा हुनेछ। बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एशोसियसनले जनाएको छ।

बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एशोसियसन युकेले स्थापना कालदेखि नै नेपालका हरेक विपत्तिहरुमा सक्दो सहयोग पुर्‍याउंदै आइरहेको छ।

उक्त अवसरमा कार्यवाहक राजदूत क्षेत्रीले सेफ एशोसियसन युकेले प्रशंसनीय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताए। बेलायतमा सेफहरुको पेशा अत्यन्तै सम्मानजनक रहेको बताउंदै क्षेत्रीले सामाजिक काममा अझै बढि सक्रिय भएर लाग्न आग्रह गरे। अहिलेको अवस्थामा ब्रिटिश गोर्खापछि बेलायतमा सेफ पेशा बढि सुरक्षित रहेको क्षेत्रीले बताए।

एशोसियसनका अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भएपनि सहयोग गर्न पाउंदा आफूहरुलाई खुशी लागेको बताए। उनले रकम संकलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सेफहरुप्रति आभार प्रकट गरे। बेलायतको टाढा टाढा रहेर पनि मातृभूमिको सेवामा सहयोग गर्नुहुने सेफहरुलाई धन्यवाद दिंदै उनले आगामी दिनहरुमा पनि सहयोग गर्न आव्हान गरे।

एशोसियसनले संकलन गरेको बांकी रकम सेफहरु आफैं उपस्थित भएर भूकम्पबाट क्षतिग्रस्त स्कुलको पुननिर्माणमा खर्च गर्ने जनाएको छ। अध्यक्ष तिमल्सिनाका अनुसार छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरिने छ।

सहयोग रकम हस्तान्तरणका अवसरमा एशोसियसन युकेका अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्मा चापागाईं, रामसिंह थापा, दिपक आचार्यलगायत सहभागी थिए।





Comments

comments

Leave a Reply

7197