कोलोराडोमा कवि गोष्ठी सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरीका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार कोलोराडोको थ्रोन्टनमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो।

कवि देव भट्टराईको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा २२ जना कवि, कवयत्री तथा सर्जकहरुले आआफ्ना रचना प्रस्तुत गरेका थिए। यसरी कविता बाचन गर्नेहरुमा टेक्ससबाट आएकी कवयत्री शारदा पाठक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा डा. विजयराज शर्मा, कलाकार निर्मल प्याकुरेल, कवि देब भट्टराई भुपेन्द्र महतलगायतका कवि कवयत्री रहेका थिए।

गद्य, पद्य, ऋंगारिक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविताहरुमा नेपालको भूकम्प र भूकम्प पछिको वर्तमान अवस्था झल्काउन खोजिएको थियो। मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने दृश्य यहां प्रष्ट देख्न सकिन्थ्यो।

कार्यक्रममा देव भट्टराईको सुरिलो छन्दमा प्रस्तुत कविता, यसोदा भट्टको असारे गीत, बाल कलाकार पल्लवी भुषालको जहां छन् बुद्धका आंखा, वसन्त लम्सालको भूकम्प सम्वन्धी गीत, भुपेन्द्र महतको गजल, र उषा किरण अधिकारीको गीतलाई खुलेर प्रशंसा गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको संचालनमा सम्पन्न कवि गोष्ठीको डा.विजयराज शर्माले समिक्षा गरेका थिए। उनले कवि गोष्ठीमा प्रस्तुत गीत लगायतका श्रृजनाको प्रस्तुतीले चट्नीको काम गरेको भन्दै यही हुर्के बढेका र नेपाली भाषामा दख्खल नभएका बाल बालिकालाई अंग्रेजी भाषामै भएपनि कविता लेख्न सिकाउंदा पछि नेपाली संस्कृतिको विकासमा टेवा पुग्ने बताए।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७२ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिनाको अन्तिम आईतवार कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

7240