रानीबारी हत्याकाण्डका आरोपी मनराज गुरुङ र प्रमेश चौहान थुनामै

काठमाडौं, रानीबारी हत्याकाण्डका आरोपी मनराज गुरुङ र प्रमेश चौहानलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न पुनरावेदन अदालत पाटनले आदेश दिएको छ। अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेशलाई पुनरावेदनले सदर गरेको हो।

गुरुङ र चौहानले गत जेठ ११ गते वकिलमार्फत पुनरावेदन गरेका थिए। जाहेरवाला लव श्रेष्ठको जाहेरीले नेपाल सरकारलाई विपक्षी बनाएर उनीहरूले पुनरावेदन गरेका थिए।

पुनरावेदन अदालतका न्यायाधीशहरू भीमबहादुर बोहोरा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले प्रतिवादी गुरुङ र चौहानलाई थुनामा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको फैसलालाई सदर गरेका हुन्।

पुनरावेदन अदालतले ‘घटनाका प्रत्यक्षदर्शीको सनाखत र मिसिल प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षमा राखी थुनामा राख्ने आदेशमा अन्यथा गरिरहन नपर्ने’ भनेको छ, अन्नपूर्णपोष्टमा समाचार छ।

गुरुङ र चौहानका तर्फबाट वकिलले पुनरावेदन गर्दा प्रतिवादीको इन्कारी बयान हुँदाहुँदै पनि जिल्ला अदालतले बन्द इजलासमा राखेर जबर्जस्ती पुर्पक्षमा आदेश जारी गरेको उल्लेख गरेका थिए । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा बुधबार दुवै पक्षको बकपत्र छ।

गुरुङ र चौहानले गरेको पुनरावेदनमा समेत जिल्ला अदालतकै आदेश सदर भएकाले पीडितले न्याय पाउनेमा ब्युरोका अनुसन्धान अधिकृत ढुक्क छन्।

२०५९ असार ३१ गते रानीबारीस्थित गीता खड्काको घरमा डेरा बस्दै आएका हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको खुकुरी प्रहारबाट हत्या भएको थियो।

सोही घटनामा संलग्न भएको आरोपमा ब्युरोले गत चैत १ गते गुरुङ र चौहानलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

यो पनि पढ्नुहोस्
रानीबारी हत्याकाण्डका अभियुक्त गुरुङको आर्जन: १४ वर्षमा १५ करोड





Comments

comments

Leave a Reply

7270