सभासद पुत्रले एयरपोर्टमा हंगामा मच्याएपछि…

राजनीतिक विवाद निम्तिने देखापरेपछि कांग्रेसकी सभासद् कौसर साहले भारतीय राहदानीवाहक आफ्ना छोरा जुबेर खानको घटना थामथुम पार्न खोजिन्।

तर घटनाले उग्र रूप लिन थालेपछि न सभासद् साहले घटना थामथुम पार्न सकिन्, न त दुबई जान लागेका छोरा खानलाई हिरासत बस्नबाट जोगाउनै सकिन्।

दुबई जान बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका खानले अध्यागमन कार्यालयका कर्मचारीलाई हातपात गर्न खोजेपछि प्रहरीले उनलाई त्यहींबाट पक्राउ गरी राति नै कालिकास्थानस्थित अध्यागमनको हिरासतमा ल्याएर बुझाइदियो। अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।

छोरालाई हिरासतबाट छुटाउन हदैसम्मको कोसिस गरे पनि सभासद् साह असफल भइन्। नेदरल्यान्डको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएका भारतीय नागरिक खानले विमानस्थलस्थित अध्यागमनका अधिकृत छत्रबहादुर साह र लोकबहादुर कार्कीलाई दुर्व्यवहार गर्दै हातपात गर्ने प्रयत्न गरेका थिए । अध्यागमन अधिकृतमाथि मुड्की हान्न खोजेपछि अन्य यात्रु पनि जम्मा भएका थिए।

पीडित कर्मचारीहरूले प्रतिरोध र विरोध गरेपछि घटना अध्यागमन विभागसम्म पुग्यो। सुरुमा खानले आफ्नी आमा सभासद् भएको लुकाए तर घटनाले ठूलो रूप लिएपछि आफ्नी आमा कांग्रेसकी सभासद् भएको बताएका थिए।

त्यसपछि सभासद् साहले विमानस्थलमै घटना मिलाउन अध्यागमनका कर्मचारीलाई दबाब दिइन्। विमानस्थलको गेटपासबिना नै सभासद् साह अध्यागमन कक्षसम्म पुगेकी थिइन्। ‘बिनापास अध्यागमन कक्षसम्म साह पुगेपछि विमानस्थलको सुरक्षामा समेत प्रश्न उठेको छ’, एक अध्यागमन अधिकृतले भने।

अध्यागमन अधिकृत छत्र साह र अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेको रोहबरमा खानले लिखित माफी मागेपछि बिहीबारै उनी रिहा भएका थिए । अध्यागमन विभागका महानिर्देशक न्यौपानेले खानले लिखित माफी मागेपछि छाडेको बताए। खान र उनका बाबु शमसुल हक खान भारतीय नागरिक हुन्। बागबजार बस्दै आएका खानकी आमा कौसर साह कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै समानुपातिक कोटामा सभासद् भएकी हुन्। पछिल्लोपटक बनाएको खानको भारतीय राहदानी नेदरल्यान्डको हेगबाट जारी भएको देखिन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7296