हङकङमा चुम्लुङ निर्वाचनको मुखमा सहमति, एउटै समितिमा दुई अध्यक्ष, काम र चुनौतीहरु

रबिन लिङदेन “आम्भु जेठा” –

हङकङ । किरात याक्थुङ चुम्लङ हङकङको १३ औं महाधिवेशन हालै (३० अप्रिल २०२३) सम्पन्न भएको छ।

लेखकः रबिन लिङदेन “आम्भु जेठा”

महाधिवेशनमा एक कार्यकालको लागि २ जना अध्यक्षसहित कार्यसमिति चयन भएको छ । अधिवेशन वा महाधिवेशनमा यस्तो घटना देखिदैन र सुनिदैन पनि । केही समयअघि नेपाली राजनितिमा दुई अध्यक्ष भएको घटना त नेपाली समाजलाई थाहा भएकै कुरा हो। त्यसबेला फरक–फरक पार्टी एकता गरि महाधिवेशनसम्मको लागि दुई अध्यक्ष भएको थियो । नेपाली राजनितिमा अध्यक्षहरुवीच शक्ति वा अधिकार बाँडफाँडमा स्पष्ट खाका नहुदा पटक–पटक विवाद भई पार्टी फुटको स्थितिमा पुगेको घटना हाम्रो सामु छर्लगैं छ।

यता हङकङको लिम्बु समुदायमा भने महाधिवेशनले नै एक कार्यकालको लागि दुई अध्यक्ष चयन गरेको छ। दुबै जना समान अध्यक्ष हुन भने कार्यसमितिमा दुई जना अध्यक्षको संख्यालाई १ मात्र गन्ति गर्दै २१ सदस्यीय कार्यसमिति तयार पारेको छ । जसमा महाधिवेशनबाट आएको कार्यसमितिको पहिलो बैठकले अनुमोदन गर्ने ठाँउसमेत राखिएको छ। समान हैसियतको अध्यक्ष भएता पनि अधिकार बाँडफाँडमा कार्यकारीको अधिकारक्षेत्र भने स्पष्ट रुपमा छुट्याइएको छ।

तीनवर्षको कार्यकाल अवधिमा अधिवेशन भएको मितिले पहिलो एक वर्ष अर्थात ३० अप्रिल २०२४ सम्मको लागि शेर बहादुर लक्सम्बा किरात याक्थुङ चुम्लुङको कार्यकारी अध्यक्ष पदमा रहनुहुनेछ । त्यसपछि १ मे २०२४ देखि १४ औं महाधिबेशन सम्पन्न नभएसम्म शमशेर तुम्बाहाङफे किरात याक्थुङ चुम्लुङ हङकङको कार्यकारी अध्यक्ष रहनु हुनेछ । कार्यकारीको भूमिका निर्वाह गरेको समयमा अर्का अध्यक्षले सकेको सहयोग गर्ने भद्र सहमति भएको छ । गणपूरक संख्यामा अर्का अध्यक्षको सल्ल्लाहमा कार्यकारी अध्यक्षको मत मात्र गनिन्छ । एउटै समितिमा अध्यक्षको मत विभाजन हुनुहुदैन भन्ने उदेश्यले दुई अध्यक्षलाई गणपूरक संख्यामा एक मात्र गनिने भएको छ।

यस्तो अवस्था आउनु आफैमा राम्रो कुरा भने पक्कै पनि होइन र अवस्था अहिलेको–अहिले सिर्जना भएको पनि थिएन। यस्तो अवस्था सिर्जना हुनुमा लामो इतिहास जोडिएको छ । सन २०१२ जुलाई २२ को दिन किरात याक्थुङ चुम्लुङ हङकङको नवौं अधिवेशनमा त्रिभुवन लुङफुङवाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको थियो । उक्त अधिवेशनमा शमशेर तुम्बाहाङफे र शेरबहादुर लक्सम्बाको नाम कार्यसमितिमा देखिदैन । त्यसपछि २०१४ अगष्ट १७ मा दसौं अधिवेशन भन्नु पर्ने ठाउँमा एघारौं अधिवेशन भन्दै १५ सदस्यीय कार्यसमिति चयन गरेको थियो । उक्त कार्यसमितिमा समशेर तुम्बाहाङफे सहसचिव थिए भने शेरबहादुर लक्सम्बा सदस्य थिए । त्यो समय नेपाली समुदायमा समाजको घर किन्ने एक खालको होडबाजी नै चलेको थियो । नमोबुद्घ र मगर संघले घर किनिसकेको थियो । नेपाली महासंघ, किरात राई यायोक्खाको चुलाघर लगायत अन्य सस्थाहरु घर किन्ने दौडमा थिए । त्यहिसमय त्रिभुवन लुङफुङवाको नेतृत्वमा चुम्लुङ हिम खरिदको लागि योजना अगाडि सरेको थियो । त्यसताका चुम्लुङहिमको लागि खास काम हुन सकेको थिएन।

सन २०१४ मा भएको अधिवेशनपछि त्रिभुवन लुङफुङवाको संयोजकमा खगेन्द्र लाओती सहसंयोजक सहित ५०–५५ जनाको चुम्लुङ हिम खरिद समिति बनाएर पैसा संकलन कार्ययोजना अगाडि बढ्यो । चुम्लुङहिम खरिदसम्बन्धी नीति नियम बनाउने क्रममा “चुम्लुङ हिम खरिद सुचिपत्र” र “चुम्लुङ हिम खरिद अवधारणापत्र” गरि चौथो संस्करणसम्म निकाल्दै काम अगाडि बढेको थियो । जसमा “चुम्लुङ हिम खरिद सुचिपत्र” पहिलो, दोश्रो र तेश्रो संस्करणको योजना नं. ३.५मा “पत्रचारः सम्पूर्ण याक्थुङबाहरको घरदैलो वा सामूहिक कार्यक्रमको माध्यमबाट विभिन्न क्षेत्रबाट विभिन्न चरणहरुमा सहयोग रकम संकलन गर्ने २०१४ सालको अक्टुबरको पहिलो हप्ताबाट दुई वर्षभित्र घर खरिद गरी याक्थुङ चुम्लुङ हङकङलाई हस्तान्तरण गरी चुम्लुङ हिम खरिद समिति भंग हुने।” भनि उल्लेख छ भने चौथो संस्करण “चुम्लुङ हिम खरिद अवधारणापत्र” मा पनि उक्त बुदाँ जस्ताको त्यस्तै छ।

सन २०१५ मार्चपछि सहसंयोजक खगेन्द्र लाओतीको ठाउँमा शेरबहादुर लक्सम्बा रहेर काम अगाडि बढ्यो । त्रिभुवन लुङफुङवा संयोजक र शेरबहादुर लक्सम्बा सहसंयोजकमा पनि ५०–५५ जनाको चुम्लुङ हिम खरिद समिति बनेको थियो । उक्त समितिले निकै मिहेनत गरेपछि भने सन ३१ अगष्ट २०१६ मा चुम्लुङ हिम खरिद प्रक्रिया ५० हजार हङकङ डलर बैना गरि औपचारिक रुपमा अगाडि बढेको थियो । सबैको प्रयासले सन २०१७ अगष्ट २६ तारिखको दिन चुम्लुङ हिमको ग्राण्ड ओपनिङ भयो । जोर्डनस्थति २४ रिक्लाइमेसन स्ट्रिटको पहिलो तलामा झण्डै ७०० स्कवारफुटको एरियामा रहेको घरलाई ३.७ मिलियन हङकङ डलरमा खरिद गरिएको थियो। चुम्लुङ हिमको ग्राण्ड ओपनिङ भएको ५ महिनापछि किरात याक्थुङ चुम्लुङ हङकङको १२औं अधिवेशन गरि त्रिभुवन लुङफुङवा समितिबाट बाहिरनु पर्ने संबैधानिक बाध्यता आयो । विधानत दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने भएकोले त्रिभुवन लुङफुङवाको काम गर्ने जोस र हिम्मत हुदाहुदै पनि समितिबाट बाहिरनु प¥यो । ‘सूचीपत्र र अवधारणा’ पत्रको नियम अनुसार चुम्लुङ हिमको ग्राण्ड ओपनिङ भएकै दिन चुम्लुङहिम खरिद समिति भंग भई घर किरात याक्थुङ चुम्लुङ हङकङको मातहतमा आइ सक्नु पर्ने थियो । र, बाकी रहेका काम चुम्लुङ मुल समितिले नै गर्नुपर्ने थियो । तर, शेर बहादुर लक्सम्बाको संयोजकमा चुम्लुङहिम ब्यवस्थापन समिति भनि अर्को समिति बन्यो।

सन १७ फेब्रुअरी २०१८ मा १२औं अधिवेशन हुने भएपछि तत्कालिन अबस्थामा दुई पटक उपाध्यक्ष भइसकेका कमल कुमारी वनेम अध्यक्षको बलियो दावेदारी भए । बरियताक्रमको हिसाबले पनि वनेमले नै अध्यक्ष पाउनु पर्ने थियो । त्यसबेला शेरबहादुर लक्सम्बाले पनि अध्यक्षको लागि उमेदवारी दिने घोषणा गरे । संगै शेरबहादुर लक्सम्बाले अध्यक्षको उमेदवारी दिने भए म पनि उमेदवारी दिन्छु भन्दै समशेर तुम्बहाङफेले पनि अध्यक्षमा उमेदवारी दिने भए । पछि शेरबहादुर लक्सम्बालाई अर्कोपटकको अध्यक्ष तपाईलाई नै हो भनि तुम्याहाङ (बुद्घिजीवि)हरुले सम्झाएपछि उपाध्यक्षमा वस्न बाध्य भए भने कमलकुमारी अध्यक्ष हुनेभए छोडिदिने भन्दै समशेर तुम्बहाङफे पनि उपाध्यक्षमा वस्न तयार भए । अधिवेशनपछि अध्यक्ष नभएको अवस्थामा दुई उपाध्यक्षवीच कसले अध्यक्षता गर्ने भन्नेमा अन्योल रह्यो।

तत्कालिन अध्यक्ष कमलकुमारी वनेम वि.सं. २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ स्थित मैवाखोला गाउँपालिकाको उपाध्यक्षमा उमेदवारी दिने भएपछि किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष पदबाट राजीनामा दिए । मिति २०२२ अप्रिल २१ को दिन दिएको राजीनामा पत्रमा कार्यबाहक अध्यक्ष समशेर तुम्बहाङफेलाई जिम्मा दिएपछि दुईजना उपाध्यक्ष वीचको अन्योल सकियो । तर महाधिवेशनको लागि तयारी भने दुबै जनाले गरिरहेका थिए । महादिवेशनमा निर्वाचनको लागि दुवै पक्षबाट आ–आफ्नै तरिकाले प्रचार–प्रसार भइरहदा म लगायत थुप्रै तुम्याहाङहरुले समाज विभाजन हुने अवस्था देख्यौं । समाज विभाजन नगराउनको लागि सहमति गराउनु पर्छ र गराउन सकिन्छ भनेर महिनौ अगाडिदेखि तुम्याहाङहरुवीच छलफल चलि नै रहेको थियो।

दुई अध्यक्षका प्रत्यासीलाई अधिवेशन हुन भन्दा एकदिनअघि भुपेन्द्र चेम्जोङ, इन्द्र वनेम, जीवन मेन्याङबो, म रबिन लिङदेन, हेम तबेबुङ, तत्कालिन महासचिज इन्द्र लोक्सम, वर्तमान महासचिव लक्ष्मि पन्धाक, पूर्व अध्यक्ष त्रिभुवन लुङफुङवालगायतका विशेष साथीहरुको उपस्थितिमा बैठक बसि सहमति गराउने काम भयो । कृष्णराज लाओतीले नेपालमै रहेर पनि मिलाउने भूमिका निरन्तर गरिरहे । सहमति गराउनको लागि नै नेपालबाट निवर्तमान अध्यक्ष, मैवाखोला गाउपालिकाको उपाध्यक्ष असली वनेमसमेत हङकङ आउदै थिए । त्रिभुवन लुङफुवा करिब तीन वर्ष नेपालमा रहेर अधिवेशनअघि नै हङकङ आएका थिए । निकै लामो प्रयास छिको सहमतिमा पहिलो बर्ष अध्यक्ष कार्यकारी हुनेले एक वर्ष र बाकी दुई वर्ष अर्का अध्यक्षले कार्यकारीको भूमिका निर्वाह गर्ने सहमति त्यही बैठकमा भयो।

दुई अध्यक्ष बनाएर भए पनि सहमति गराउने कारणहरुः

एउटै समाजमा दुई अध्यक्षको प्रतिस्पर्धीविचमा कसलाई भोट दिने भन्ने सोचमा कहीं न कहीं समाज विभाजन हुने गरेको घटना प्रशस्तै देखिएको छ । एउटा संगठनमा दुई अध्यक्ष वीचको प्रतिस्पर्धाको नाउंमा संगठन विभाजन हुने मात्र होइन समाज नै विभाजन भएको पनि प्रशस्तै देखिएको छ । हङकङमा यस्ता घटना हामीले विगतमा देखेकै पनि हो । केही वर्ष अगाडि गुरुङ समाजमा अध्यक्षमा मिल्ने बातावरण नभएकोले त्यतिनै बेला अर्को संस्था जन्मिएको थियो । हालै, मगर संघमा पनि अध्यक्षमा मिल्न नसकेकै कारण एउटै समाजमा दुईवटा समानान्तर संगठन रहेको देखिन्छ । एउटै समुदायले एउटै चाड छुट्टा–छुट्टै ठाउँमा कार्यक्रमको आयोजना गरि मनाएको पनि देखियो जुन राम्रो हुदै होइन । लिम्बु समुदायमा त्यस्तो अवस्था सृजना हुन नदिनको लागि पनि निर्वाचनमा जानै हुदैन थियो । अझ यसपटक त्यसो गर्न हुदैन थियो, किनभने किरात याक्थुङ चुम्लुङको मुल समिति र चुम्लुङ हिम खरिद समिति छुट्ने अवस्थाको नजिक देखिन्थ्यो । तुम्याहाङको दवावको कारण संगठन नछुटे पनि हार्ने समुदायले कहि न कही असहयोग गर्ने स्थिती देखिदै थियो । सामाजिक र कानुनी रुपमा त्यसो गर्न नमिल्ने भएता पनि ब्यवहारिक पक्षमा त्यस्तो हुनु दुःखद हुने थियो । चुम्लुङ हिम चाँडो भन्दा चाँडो छिन्ति गरेर किरात याक्थुङ चुम्लुङ हङकङको पूर्ण स्वामित्वमा ल्याई घर सस्थाको नाममा बनाउनको लागि सबैको सहयोग उत्तिकै आवश्यकता रहेको छ । जस्को कारण पनि हार र जितको खेलमा लाग्नु हुदैन थियो।

अर्को तर्फ लिम्बुवान किरात आन्दोलन चलिरहेको समयमा समाज विभाजनले आन्दोलनलाई कहीं न कहींबाट असर पर्ने नै थियो । विभाजनमा अन्य शक्तिले चलखेल गर्ने अवस्था हुन्थ्यो नै । लिम्बुवान किरात आन्दोलनलाई थप बल पु¥याउन अति आवश्यक रहेको बेला समुदायमा हार र जितको खेल खेलिनु हुदैन भन्ने निष्कर्ष हो । जुन कुराले समाज र देशलाई नै असर पर्छ भने त्यस्तो खेलमा लाग्नु हुदैन भन्ने निष्कर्ष हो । जानी–जानी समाज विभाजनको सृजना गर्नु हुदैन भन्ने निष्कर्ष थियो । त्यसैकारण मिलाउने पक्षमा हामी थियौं।

उपाध्यक्षमा पनि सहमतिः

अध्यक्षको लागि मिल्ने वातावरण भएर अधिवेशन हलमा आएता पनि उपाध्यक्ष पदमा चार जनाको उमेदवारी प¥यो । विधानको अवधारणा अनुसार अध्यक्ष वा उपाध्यक्ष पदमा एक जना महिला अनिवार्य हुनु पर्नेमा दुबै पदमा पुरुषको भिड देखियो । वरियताक्रम अनुसार महासचिव भईसकेका इन्द्र लोक्समले स्वभावैले उपाध्यक्ष पाउनु पर्ने थियो । त्यसपछि अर्का दावेदार श्याम इङनामले नियमित बैठकमा उपस्थिति र सक्रियताको हिसाबले पाउनु पर्ने थियो । हङकङको राजनैतिक आन्दोलन, कोभिड १९ को महामारी र निवर्तमान अध्यक्ष असली अनेम नेपालमा लामो समयसम्म रहदै संस्थाबाट राजीनामा दिनु पर्ने बाध्यताको कारण किरात याक्थुङ चुम्लुङ हङकङको महाधिवेशन समय भन्दा धेरैपछि सरेको थियो । तीन वर्षमा अधिवेशन हुन पर्ने ठाउँमा ५ वर्ष २ महिना अर्थात ६२ महिनापछि मात्र महाधिवेशन भयो । उपाध्यक्षका अन्य दुई दावेदारहरु क्षत्र सुब्बा र कृष्ण वनेम ६२ महिनाको कार्यकालमा नियमित बैठकमा दुई पटक जति मात्र उपस्थित भई आफू उपाध्यक्ष हुने भएपछि मात्र लेवी तिरेर आएका थिए । जसका कारण क्षत्र सुब्बा र कृष्ण वनेम चुनावमा गएको भए हार्ने निश्चित थियो।

इन्द्र लोक्सम समाजमा भिजेको, पत्रकारिता क्षेत्रमा राम्रै स्थान ओगटेको, समाजले चिनेको, समाजसेवामा जोडिएका कारण उनको सबै भन्दा धेरै भोट आउने सर्वेक्षणले देखाइ सकेको थियो । त्यसपछि, अर्का उपाध्यक्ष श्याम इङनाम ब्यक्तिगत छविको कारण भोट आउने थियो । क्षत्र सुब्बा किरात याक्थुङ चुम्लुङको नियमित बैठक, कार्यक्रममा खासै नआउने, चुम्लुङले आव्हान गरेको सहयोग कार्यक्रममा सहभागि नहुने भएता पनि उनको ब्यक्तिगत समाजसेवाको कारण तेश्रो स्थानमा भोट आउने थियो । कृष्ण वनेम फेसबुकतिर मत माग्दै हिडेपनि सामाजिक काममा नजोडिएको, चुम्लुङको नियमित बैठक तथा कार्यक्रममा उपस्थित नहुने, र उनको किरातप्रति हेर्ने दृष्टीकोणका कारण पनि सबै भन्दा कम भोट आउने निश्चित थियो।

इन्द्र लोक्सम सबै भन्दा धेरै भोट आउने अवस्था हुदाहुदै पनि महाधिवेशनमा निर्वाचन नगर्ने मानसिकताको कारण आफू सदस्यमा रहेरपनि सहमतिको वातावरण बनाउने भनि आफ्नो उमेदवारी फिर्ता लिए । यसपटक निर्वाचन गर्न हुदैन भन्दै लोकसमले धेरै पहिलादेखि नै भन्दै आएका थिए । संस्थामा पद घटाएर सेवा गर्छु भन्ने घटना समाजमा विरलै मात्रमा पाईन्छ । मानिसहरु माथिल्लो पदमा बसेर त्यहि सस्थामा फेरी फर्केर सदस्यमा रहेर काम गर्ने हिम्मत जो कोहिले गर्नै सक्दैन जुन हिम्मत इन्द्र लोक्समले गरे । कला योक्पाङदेनको उपाध्यक्ष पदमा जाने मन थिएन । तर आफू गएमा सहमति हुने भनेपछि सहमति कै लागि उपाध्यक्ष बन्न हिम्मत गरे। त्यसरी उपाध्यक्षको विवाद मिलाउन तुम्याहाङहरु सफल भए।

दुई अध्यक्ष सहितको समितिले गर्नुपर्ने काम र चुनौतीहरुः

महाधिवेशनबाट चुनिएर आएका दुवै अध्यक्षले चाडो भन्दा चाडों घर छिन्ति गर्ने भनेर प्रतिवद्घता ब्यक्त गरेका छन् । जुनकुरा आफैमा राम्रो हो । समाज, समुदायको हितमा छ । उहाँहरुले चुम्लुङ समिति र चुम्लुङ हिमकै लागि प्रतिस्पर्धा गरेका थिए । ‘चुम्लुङ हिम’ सैद्घान्तिक, सामाजिक र ब्यवहारिक रुपले किरात याक्थुङ चुम्लुङ हङकङ समितिकै स्वामित्वमा रहेको अवस्था हो तर कानुनी रुपमा भने पूर्ण स्वामित्वमा ल्याउन हिम छिन्ती गर्नु पर्ने हुन्छ । अहिले ब्यक्तिको नामबाट मोर्गेज तिरिरहेको अवस्था हो । हिम छिन्ती गर्न अब करिब १४ लाख भन्दा बढी रकम उठाउनु पर्ने छ । त्यसो त चुम्लुङ हिम खरिदको लागि विभिन्न कार्यक्रमहरु हुने गरेको छ । त्यो सगैं स्वैच्छिक रुपमा पैसा दिनेको होडबाजी नै चल्ने गरेको छ । समुदायको विश्वास जित्न सकेको खण्डमा अब १५–१६ लाख उठाउन खासै गाह्रो भने देखिदैन।

सन १७ फेब्रुअरी २०१८ को १२औं अधिवेशनमा चुम्लुङ हिम खरिद आयब्यय रकम विवरण पेश भएनुसार चन्दा वा स्वैच्छिक दानबाट उठेको रकम २१ लाख ४८ हजार ७५७ हङकङ डलर छ । १२औं अधिवेशनको समयमा चन्दा, स्वैच्छिक दान र एक ब्यक्ति बाट ४ लाख ऋण लिएकोसहित २५ लाख ४८ हजार ७५७ हङकङ डलर जम्मा भएको थियो । ब्यक्तिबाट लिएको रिणमा २ लाख १० हजार फिर्ता गर्दा २३ लाख ३८ हजार ७५७ हङकङ हुन आउछ । जसमा सन ३१ अगष्ट २०१६ मा चुम्लुङ हिम खरिद बैना ५० हजार हङकङ डलर र सन २०१६ डिसेम्बर ५ मा बैंकलाई बुझाएको रकम १६ लाख ६७ हजार ४६० थियो। त्यसपछि सन २०१६ नेभेम्बरदेखि २०१८ फेब्रुअरीसम्म १५ महिनाको मोर्गेज १ लाख ३९ हजार ९०० तिरेको देखिन्छ । सन २०१८ मार्चदेखि १३ औं अधिवेशन अर्थात ३१ मे २०२३ सम्म तिरेको मोर्गेज करिब ५ लाख ८१ हजार १०० बैंकमा बुझाई सकिएको छ । चुम्लुङ हिम खरिद प्रकृयामा मात्र बैना रकमदेखि १३ औं अधिवेशनसम्म जम्मा २४ लाख ३८ हजार ४६० हङकङ डलर बैंकमा बुझाई सकिएको छ । त्यसबाहेक एजेन्सी फि ३७००० र चुम्लुङहिम मर्मत र आवश्यक समान खरिद गर्दा २ लाख ६५ हजार ९२४ हङकङ डलर खर्च भएको थियो । त्यसपछि सन २०१९ मा ब्यक्तिबाट लिएको बाँकी रकम चुक्ता गरिसकेको छ।

चुम्लुङ हिम खरिदको लागि मुल श्रोत भनेको चन्दा तथा स्वैच्छिक दान नै हो । त्यसबाहेक बलिहाङ तङनाम (देउसी भैलो), सांगीतिक साँझ, पदयात्रा, लेबी, अधिवेशनमा उमेदवार दर्ताबाट उठेको रकम, चासोक, कक्फेक्वा, सिसेक्पा तङना, खेलकुदलगायतका विभिन्न कार्यक्रमहरुबाट उठेको रकम नै हो । मुल श्रोत चन्दा तथा स्वैच्छिक दानबाट मात्र १३ औं अधिवेशनको मिति सम्ममा २३ लाख ९४ हजार २ सय १२ डलर उठेको छ। विगत ५ वर्ष वीचमा हङकङमा राजनैतिक आन्दोलनको कारण बन्द र कोभिड १९ को महामारीको कारण केही गर्न सक्ने स्थिति थिएन । त्यस्तो अवस्थामा पनि मुल श्रोत चन्दा तथा स्वैच्छिक दान बाहेक अन्य कार्यक्रम गरेवापत २ लाख ७० हजार ८२ डलर बचत देखिन्छ । जुनबेला सन २०१८ मा ४६५०६५ डलरको कारोबारमा २९२१११ खर्च गरि १७२९५३ डलर बचत भएको देखिन्छ । सन २०१९ देखि २०२१ सम्म खास ठूलो कारोबार हुन सकेन । सन २०२२ मा केही सुधार भएको छ जसमा १८८०६५ डलरको कारोबारमा ८०५०१ खर्च गर्दै १०७५६४ डलर बचत भएको देखिन्छ । सन २०१२ अर्थात चुम्लुङहिम खरिद प्रकृया सुरुभए यता सन २०१८ फेबु्रअरी (१२ औं अधिवेशन) सम्मको अन्य आर्थिक गतिविधिको कारोबार विवरण स्पष्ट रुपमा भेटिदैन । त्यतिबेला ठूलो मात्रामा कारोबार भएको थियो । उक्त विवरण तत्कालीन चुम्लुङ हिम खरिद समितिसंग सुरक्षित रहेको हुनुपर्छ । विगतदेखि ५ वर्षको कुल बचतको आधारलाई मान्ने हो भने पनि अब २०२३ देखि स्थिति सहज बन्दै गएको अवस्थामा चुम्लुङ हिम छिन्तीको लागि पैसा संकलन गर्न खास गाह्रो देखिदैन । इमान्दारीता मात्र हुन जरुरी छ । समाजको विश्वास जित्न जरुरी छ । किरात याक्थुङ चुम्लुङ हङकङले सबैको विश्वास जित्नको लागि इमान्दारीता, पारदर्शीता र सबैप्रति समान व्यवहार देखाउन जरुरी छ।
नोगेन । सेवारो ।

मिति ४ मे २०२३





Comments

comments

73088