गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

पोखरा । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ। प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालय पाउने भएको हो।

कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । “कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ”, उनले भने, “केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ।”

मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए । “केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ”, उनले भने।

प्रदेशसभामा राजीव गुरुङ नेकपा (एस)का एक्लो सदस्य हुन् । मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका उनी पछि नेकपा एसमा प्रवेश गरेका थिए । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन्।

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताए । “कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ, नेकपा एसको विषयमा मुख्यमन्त्रीज्यूले नै मिलाउनुहुन्छ”, उनले भने।

पूर्वमन्त्रीसमेत रहेका नेता चुमानले माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना रहेको उल्लेख गरे । “अब माओवादीका कारण मन्त्रिपरिषद् विस्तार रोकिन्न, बरु कांग्रेसभित्रै मन्त्रीका आकांक्षीलाई मिलाउन समय लाग्न सक्छ”, उनले भने।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा पनि माओवादीले दुई मन्त्रालय पाएको थियो । सोही सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा पुर्‍याएको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाइसकेका छन् । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले गत २१ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । विश्वासको मत पाएसँगै उनी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहेका छन् । मन्त्रिपरिषद्को पूर्णतापछि सरकारका कामकारबाहीले गति दिने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री तिवारीले बताए।

रासस





Comments

comments

73337