नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौं । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ।

प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन्।

प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर भइसकेको र प्रहरीका सबै संयन्त्र खटाइएको बताए । ‘रायमाझीको खोजीका लागि हुलिया र फोटोसहित ७७ वटै जिल्लामा सर्कुलर भइसकेको छ, प्रहरीले खोजी गरिरहेको छ, यो पक्राउ पुर्जी जारी भएपछिको नियमित प्रक्रिया नै हो,’ प्रहरी प्रवक्ता कडायतले भने । यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

73373