चीन र भारत जोड्ने नेपालको सबभन्दा छोटो बाटो यस्तो छ

बागलुङ: नेपाल भएर भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग कालीगण्डकी करिडोर निर्माणले गति लिन थालेको छ। चीनको कोरलादेखि भारतको सुनौलीसम्म पुग्ने उक्त मार्ग निर्माणले नयाँ व्यापारिक रुट पहिचान हुनेछ। उत्तर-दक्षिण जोड्ने उक्त मार्ग अहिलेसम्मकै छोटो दूरी तीन सय ५३ किलोमिटरको हुनेछ।

उक्त मार्ग चीनको कोरला नाकासँग जोडिएपछि त्यहाँबाट मानसरोवरसम्म पुग्न करिब पौने तीन सय किलोमिटरमात्र दूरी पार गर्नुपर्ने हुनाले हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै भगवान् शिवको तपोभूमि कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटनको सम्भावना समेत यसले जोड्नेछ।

कालीगण्डकी नदीको किनारैकिनार जाने यो मार्गको अवधारणा १७ वर्षअघि सार्वजनिक भएको थियो। सरकारले २०६४ सालदेखि बागलुङ बजारमा कार्यालय स्थापना गरी निर्माण थालेको हो। हाल उक्त कार्यालय पाल्पामा सारिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ।

कालीगण्डकी करिडोर केन्द्रीय सरोकार समितिका प्रवक्ता टीकाराम ढकालले यो सडकबाट हिमालदेखि तराईसम्मका नौ जिल्लाका दुई सय ३१ गविसले प्रत्यक्ष फाइदा लिने बताए। भारत र चीनका लागि पनि यो मार्ग छोटो पर्ने भएकाले व्यापारिक दृष्टिमा दुई मुलुकलाई समेत फाइदा पुग्ने ढकाल बताउँछन्। ‘यो मार्गको पर्यायवाची नाम विविधता मार्ग भन्न सकिन्छ’, ढकालले भने, ‘पर्यटन, जैविक खानी र जलस्रोतका लागि करिडोर विकासको ढोका हो।’

पर्यटन, जलविद्युत्, कृषि, धार्मिक सम्पदामार्फत स्थानीय र राज्यलाई नै दीर्घकालमा करिडोरले महत्‍वपूर्ण फाइदा पुर्‍याउनेछ। दुई वर्ष पहिले नै करिडोरको ट्र्याक खोल्ने कार्ययोजना भए पनि अझै २८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। करिडोरमा बागलुङखण्डको मालढुगादेखि गुल्मी-बागलुङको सिमाना पालुङखोलासम्मको ट्र्याक खोल्न बाँकी रहेको हो।





Comments

comments

Leave a Reply

7441