मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ..

स्याङ्जा । स्याङ्जाको वालिङ-१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो ।

 

बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत तथा अनुमति लिएर व्यावसायिक उडान थालेको प्रालिका सञ्चालक सानोबाबु सुनुवारले बताए । यस ठाउँमा परीक्षण उडान गरी सफल भएसँगै अहिले पूर्वाधार निर्माण गरी व्यावसायिक उडान हुँदै आएको छ ।

पर्यटकीय सहर पोखरा र सुनौली जोड्ने सिद्धार्थ राजमार्गको त्रियासीबाट नजिकैको स्थान भएकाले पनि मन्साङकोटलाई प्याराग्लाइडिङ स्थलका रूपमा विकास गर्दै लगिएको उनले जानकारी दिए । 

“सिद्धार्थ राजमार्गबाट नजिकैको स्थानमा अवस्थित मन्साङकोटबाट टाढाटाढाका दृश्यहरु पनि देखिन्छन्”, सञ्चालक सुनुवारले भने, “टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिनाका साथै ऐतिहासिक एवं पौराणिक महत्वसँग जोडिएको आँधीखोलाको किनारमा अवतरण गर्दा छुट्टै आनन्द आउने गर्छ ।”

सिद्धार्थ राजमार्ग भएर सुनौली-पोखरा गर्ने स्वदेशी तथा विदेशी पर्यटकले सडकबाटै उक्त स्थान सजिलै देख्न सक्ने र जान सक्ने भएकाले पनि यहाँ भोलिका दिनमा पर्यटकको आवागमन बढ्दै जाने जिकिर उनको थियो ।

हावाको बहाव राम्रो हुनु, टाढाटाढाको दृश्य सजिलै देखिने, बजारबाट नजिक रहेको मन्साङकोटबाट छोटो दूरीको प्याराग्लाइडिङ गर्न उपयुक्त रहेको सञ्चालक सुनुवारले बताए । रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

78867