ब्रिटिश गोरखा नेपालीको बंशजको नागरिकताबारे पत्रकार सम्मेलन

होम किरात सुनुवार –

सम्बाद डबलीमा २७ अगस्टमा एक पत्रकार सम्मेलनको आयोजना गरियो। ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपालका संयोजक सुनबहादुर तामाङले उक्त सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकारहरूलाई अभियान समिति (BGNCCC) को परिचय, अभियान गरिनुको कारण र अभियान सफलताको लागि सम्बन्धित निकाय अर्थात् सरकार पक्षलाई संशोधनको सुझाव तथा मागको बृहत रुपमा जानकारी गराउनु भएको छ।

फाइल तस्वीर

सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकारहरूले संवेदनशील बिषयलाई प्राथमिकताकासाथ आ-आफ्नो सन्चार माध्यममार्फत सम्प्रेषण गरिसकेका छन। अवश्य पनि यहाँहरुले अनलाईन, पत्रिका, यूट्यूब, फेसबुक र बिभिन्न मिडिया सामाजिक सन्जालमा मार्फत देखि/पढी सक्नु भएको छ।

बास्तवमा ब्रिटिश गोरखा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC UK/Nepal) ले आफ्नो/नागरिक अधिकार बंशजको नेपाली नागरिकता कायम राख्नको लागि सुरुदेखि गर्न खोजिएको/गरिएको अभियान यो थियो कि यस संवेदनशील बिषयमा निम्न काम कुराहरू चरणबद्ध रुपमा गर्दै जाने:

१)बिभिन्न राजनीतिक पार्टीका नेतागणहरूलाई जानकारी गराऊने ज्ञापनपत्र बुझाऊने
२) दुवैवटा सदनमा सर्वदलीय समिति गठन गर्ने
३) पत्रकार सम्मेलन गर्ने
क) ब्रिफिङ/ जानकारी
ख) अन्तर्क्रिया
ग) अन्तर्वार्ता
घ) समाचार पत्रपत्रिका तथा न्यूज टेलिभिजन अनलाईन समचारमार्फत आम जनमानसमा जानकारी गराउने कार्य।
४) बिज्ञ तथा बुद्धिजीवी हरूसंग परामर्श छलफल।

यसरी क्रमिक रुपमा गरिनुपर्ने अभियानको रुपले बल्ल आधा भन्दाबढी बाटो कटिसकेको छ र बाटोपनि सोझिएको छ। अभियानप्रति हामी अभियन्ता सन्तोषजनक छौं बाँकी पीडितको अधिकारको सवालमा निःस्वार्थ निष्पक्ष रुपमा कर्तब्य पूरा गर्दै अगाडि बढिरहेको अवस्थामा धेरै सकारात्मक उपलब्धिहरु भएका छन्। यि उपलब्धिहरुले अभियानलाई सफलताकासाथ चाँडै नै गन्तब्यमा पुर्याउने प्रतिक्षामा छौं।

अबको बाँकी गन्तव्यको यात्रा पूरा गर्न अझै यहाँहरुकोसाथ सहयोग नितान्त आवश्यक छ। अभियानको निमित संकलन गरिएको रकमले धेरै उपलब्धिमूलक कामहरू भए/गरिए। अरुको हातमा भएको आफ्नो काम गर्न कति गाह्रो छ ? के कति, कहाँ र कसरी ख़र्च हुन्छ भन्ने कुरा भनिराख्न जरुरी नहोला। अब पनि महत्वपूर्ण सभासम्मेलन तथा अभियान का चरणहरु बाँकी रहेकाले त्यस्का लागि सम्पूर्ण ब्रिटिश गोरखा समुदायले आर्थिक, नैतिक रुपले सहयोग गर्न अत्यावश्यक छ । यहाँहरुको उल्लेख्य साथ सहयोग हुनेमा BGNCCC -UK/Nepal, विश्वस्त छ।

स्मरण रहोस्, कतिपय परिस्थितिमा अभियन्ताहरूले आफ्नो खल्तीको खर्चबाट सबैको लागि अभियानलाई गति दिंदै आएको अवस्था छ । हुन त यो स्वेच्छिक योगदान हो। सामूहिक हकाधिकारको सवालमा खबरदारी गर्न अभियन्ताहरू स्वेच्छाले अभियान/ आन्दोलनमा होमिएका हुन्। आफ्नो कामलाई भन्दा अभियानलाई प्राथमिकता दिँदै आन्दोलन गरिरहेका छन्। यसै क्रममा संयोजक सुनबहादुर तामाङ गत मंसिर महिनादेखि निरन्तर हालसम्म नेपालमा रहेर अभियान गरिरहनु भएको छ। यतिमात्र होईन (BGNCCC)ब्रिटिश गोरखा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समितिका अधिकांश अभियन्ताहरू ब्रिटिश गोरखा आन्दोलन तथा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिमा समेत रहेर काम गरिरहेका छन।

अहिले पछिल्लो समय हुन गैरहेको बाँकी रहेको G2G वार्ता अबिलम्ब हाम्रो मागसहित अन्त्यको लागि दवाब श्रृजना गर्न नेपालको दुईटै सदनको सर्वदलीय समितिहरू गठन गरिएको छ। गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको पहलकदमीमा ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिको पनि सहकार्य रहेको छ। गोरखा सत्याग्रह र BGNCCC एकै सिक्काको दुई पाटा हुन्। कारण, आखिर ब्रिटिश सरकारद्वारा समानता/तलव भत्ता सुविधामा पीडित बनाईएका र बेलायती सेनामा पठाएर नेपाली नागरिकताबाटै बञ्चित गरी राज्यविहीन बनाउन खोजिएको पीडित समुदाय एउटै ब्रिटिश गोरखा नै हुन्।

त्यसैले यस अवस्थामा हामी हाम्रो उत्पिडनबाट उन्मुक्ति पाऊन सबैले चिन्तन मनन गरेर एकसाथ डटेर अगाडि बढ्न बुद्धिमानी हुनेछ ।

धन्यबाद।
जय गोरखा !!!

(पङ्तिकार BGNCCC/GSG का सचिव हुन्।)





Comments

comments

83570