काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन्। ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।
विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन्।
कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन् । कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन्।
पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यू एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको बताएका छन्।
वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाको दिनहुँ विमानस्थलमा लर्को लाग्छ । कमाउन बिदेसिने सबै सफल हुन्छन् भन्ने छैन । कतिपय म्यानपावर कम्पनीको गैरजिम्मेवारीका कारण विदेश गएका युवा समस्यामा पर्छन्।
नागरिकको सम्पर्कमा आएका कुवेतमा अलपत्र एक युवकका अनुसार उनीहरू मासिक ८५ केडी तलब कमाइ हुने भन्दै म्यानपावर कम्पनी र एजेन्टलाई १ लाख ६० हजारदेखि २ लाख रूपैयाँसम्म बुझाएर त्यहाँ गएका हुन्। नागरिक दैनिकमा सविता खड्काको समाचार।