हार्ने चुनाव किन लड्दै छ कांग्रेस ?

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपति पदमा पनि अन्तिम दिन मात्र नाम तय गरी उम्मेदवारी दर्ता गराएको छ। मंगलबार बिहान बसेको पदाधिकारी बैठकले नाम प्रस्ताव गरेपछि केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रपतिमा कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री चुनावका वेला कांग्रेसको उम्मेदवारको पक्षमा तराई मधेसमा आन्दोलनरत मधेसी दलले मतदान गरेका थिए । तर, अहिले कांग्रेसको पक्षमा कुनै पनि दल खुलेका छैनन् । आफ्नै दुई सय सात सिटबाहेक कांग्रेसको पक्षमा अखण्ड नेपाल पार्टीका एक सांसदले मात्र भोट हाल्ने घोषणा गरेका छन् । मधेसवादी दलहरूले राष्ट्रपतिको निर्वाचन बहिष्कारको घोषणा गरेका छन् । संवादमा सुस्त कांग्रेस प्रधानमन्त्रीको निर्वाचनपछि सभामुख र उपसभामुखमा कांग्रेसले उम्मेवदारी नदिई सत्तारुढ दलको उम्मेदवारलाई समर्थन गरे पनि राष्ट्रपतिका लागि आफ्नो पक्षमा प्रभावकारी माहोल बनाउन सकेको छैन।

‘प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि उम्मेदवारीका लागि हाम्रो तयारी पुगेन,’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘पार्टी सभापति भएदेखि नै उहाँमा काम गर्ने सुस्त प्रक्रिया छ । केन्द्रीय समिति, संसदीय दल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्रधानमन्त्री र राष्ट्रपतिको चुनावमा पनि त्यही देखियो।’

एमाले र एमाओवादीका नेताले सहमतिका लागि विगतका कमजोरी स्विकारे राष्ट्रपति कांग्रेसलाई दिन सकिने अभिव्यक्ति दिए पनि कांग्रेसले त्यसलाई ‘सिरियस्ली’ लिएन। एमाले उपाध्यक्ष भीम रावलले कांग्रेसका कारण सहमतिको अवस्था बिग्रिएको आरोप लगाए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

‘कुरा त प्रधानमन्त्रीको निर्वाचनदेखि नै बिग्रियो, तर पनि संयुक्त सरकारमा आउने र सरकारलाई स्थायित्व दिँदै संविधान कार्यान्वयन गर्न मिलेर जाने कुरामा कांग्रेस सकारात्मक भएको भए राष्ट्रपतिको विषयमा सोच्न सक्छौँ भनेका थियौँ,’ रावलले भने, ‘तर, कांग्रेस यसो गर्न सकारात्मक नभएपछि हामीले उम्मेदवारी दिएर अघि बढ्नुपर्ने भयो ।’ तर, कांग्रेसका नेताहरू आफूले गल्ती नगरेको दाबी गर्छन् । ‘हामीले गल्ती गरेकै छैनौँ, गर्दा पनि गर्दैनौँ । हामी सिद्धान्त र निष्ठाका लागि लडेका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासित भने, ‘आफ्नो गल्ती स्वीकार गर भन्ने दलले आफ्नो पनि अनुहार पहिले ऐनामा हेर्नुपर्छ अनि अरूलाई भन्नुपर्छ।’





Comments

comments

Leave a Reply

9265