अपडेटः बालकुमारी प्रदर्शनमा दुई प्रदर्शनकारीको मृत्यु…

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुदन राउत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन्।

राउतको मृत्यु भएको ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले पुष्टि गरेका छन्। राउतको गोली प्रहारबाट नभई प्रहरीको कुटाइबाट मृत्यु भएको आशंका गरिएको छ। उनको छातिमा रातो दाग देखिएको छ।

बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनाएका छन्।

शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो। भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै सडकमा उत्रिएर प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

मन्त्रीको गाडीमा आगजनी गर्ने १७ जना भन्दा बढी प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आगजनी भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट दुई जना घाइते भएका छन्।





Comments

comments

97275