संस्कृतिमा फैलिएकी भारती खरेल – नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई –

भारती खरेल एउटी प्रतिभासम्पन्न कवयित्री हुन् । खरेल उपन्यासलेखनमा पनि स्थापित नाउँ हो र कथा, नाटक एवम् निबन्धलेखनका फाँटमा पनि उनले आफ्नो सृजनात्मक हैसियत कायम गरेकी छन् । खरेलले आफ्नो साहित्यिक यात्रामा हिँड्दै जाँदा २०४६ सालमा ‘एउटी आमाको कथा’ नामक सामाजिक उपन्यास लेखिन्, फेरि उनले २०४६ सालमा ‘गङ्गा जमुना’ नामक अर्को सामाजिक उपन्यास पनि लेखिन् । उपन्यासकलाबाट समाजको वस्तुस्थितिलाई सर्लक्कै देखाउन सकिन्छ भनेर उनले २०५१ सालमा ‘कुमारी आमा’ नामक तेस्रो सामाजिक उपन्यास लेखिन् । २०५२ सालमा पनि उनको ‘लाहुरे’ शीर्षकको अर्को उपन्यास प्रकाशनमा आयो । यो उपन्यास उनको देहावसानपछि प्रकाशित भएको थियो।

भारती खरेलभित्र बहुआयामिक साहित्यिक व्यक्तित्व छ । उनले कथाहरू पनि लेखिन् । उनको काव्यसाधना अन्तर्गत दुईवटा कवितासङ्ग्रह पनि प्रकाशन भए ‘भजन भारती’ (२०४६) र ‘श्रद्धासुमन’ (२०४९) । यी दुवै भक्तिरचना हुन् । साथै नाटकलेखनमा पनि उनले आफ्नो सृजनात्मक परिचय दिइन् । उनको ‘भाइटीका’ नाटक २०४९ सालमा प्रकाशनमा आयो । खरेलको ‘भाइटीका’का विषयमा विजय मल्लले लेखेका छन् ” ‘भाइटीका’ यथार्थवादी स्वाभाविक कथोपकथनको शैलीमा नितान्त आधुनिक सहरिया वातावरण र ग्रामीण परिवेशमा सबल कथानकको जगमा मीठो सरस र सरल भाषामा लेखिएको छ ।” विविध साहित्यिक कृतिहरूको सृजना गर्ने क्रममा उनले २०४९ सालमा एउटा आध्यात्मिक निबन्धसङ्ग्रह पनि प्रकाशनमा ल्याइन्- ‘नवरत्न’।

भारती खरेलका कृतिहरूका बारेमा उनी बाँच्ता र उनको भौतिक चोलाको शेषपछि पनि बराबरी विश्लेषण र समीक्षा भइरहेका छन् । उनका कृतिहरू सामाजिक परिवेशमा बाँधिएका कारणले पनि उनले आफ्नो नाउँलाई छिटै परिचित गराइन्।

भारती खरेलका रचना व्यक्ति, समाज, राष्ट्र, धर्म, दर्शन, संस्कृति आदि हरेक क्षेत्रमा फैलिएका छन् । लेख्ने क्रममा उनले जीवनको कथा लेखिन्, सृष्टिको विवरण लेखिन् र मानवको सर्वाङ्गीण बेहोराको गाथामा आफ्नो कलम चलाइन् । त्यसैले नेपाली समीक्षकहरूले भारती खरेलका विषयमा केही न केही लेखिरहे । वास्तवमा भारती खरेलका कृतिहरू सङ्ख्यात्मक दृष्टिकोणले धेरै मात्र होइन, गुणात्मक रूपमा पनि त्यत्तिकै उपलब्धिपूर्ण छन् । घनीभूत लेखन र विविध विधामा हात चलाउनाले पनि उनी चाँडै प्रसिद्धिको धुरी चढेकी थिइन् । नारी लेखकबाट त्यतिसारो विविधता नदेखाइएको अवस्थामा खरेलले विविध विधामा आफ्नो हैसियत देखाइन्।

भारती खरेलको जन्म संवत् १९९५ मङ्सिर १६ गते बिहीवार भएको थियो। मीरसुब्बा लीलानाथ उप्रेती र अनन्तकुमारी उप्रेतीकी छोरी भारती खरेलको जन्म काभ्रेपलाञ्चोकको भुम्लुस्थित हलीदेवमा भएको थियो। सानामा उनलाई घरका सबैले ठूलीमैया भनेर बोलाउँथे।

भारती खरेल सानैदेखि मिलनसार थिइन् । सानामा गीत गाउँदै नाच्ने कलामा पनि उनी पारङ्गत थिइन् । उनी सुरिलो स्वरमा गीत गाउँथिन्। लोकसुसेलीले उनी आफन्तलाई पनि मोहित पार्ने गर्थिन् । त्यस बेला उनको विशेष सोख नै गाउनु, नाच्नु, डुल्नु र घुम्नु थियो । आफ्ना बुबा समाजका सम्मानित व्यक्तित्व भएकाले सानैदेखि उनी पनि समाज र राष्ट्रको सहजै जानकारी पाउन सक्ने वातावरणमा आबद्ध भएकी थिइन्।

भारती खरेल शिशुकालमा नै नेपालको पूर्वाञ्चलको झापा पुगेकी थिइन् । त्यस बेला उनका बुबा त्यहाँको गोस्वाराका बडाहाकिम भएका थिए। त्यसपछि उनी आफ्ना बुबाआमासँग धनकुटा पुगिन् । त्यस घडी उनका बुबा धनकुटाका क्षेत्रीय न्यायाधीश थिए । त्यसै गरी उनी केही दिन मोरङमा पनि बसिन् । क्रमशः उनी आफ्ना बुबाआमाको साथ लाग्दै काठमाडौं पनि आइपुगिन्; त्यस बेला लीलानाथ उप्रेती प्रधान न्यायालयका मीरसुब्बा थिए।

भारती खरेलले आफ्ना बुबाबाट राष्ट्रभक्ति, इमानदारी र नैतिकताको पाठ सानैदेखि पढेकी थिइन् । उनले जीवनपरिचालनका हरेक पाठहरूलाई किशोरावस्थामा नै पानी पारेकी थिइन् । उनका बुबाले सानैदेखि उनलाई काँधमा राखीराखी दुःखसुख घोकाएका थिए । उनी पनि बुबाकी भक्त थिइन् । भक्तमात्र होइन उनी आफ्ना बुबाकी आज्ञाकारी छोरी पनि थिइन् । बुबाले बोलेपछि जुन विषय पनि त्यस बेला उनका लागि ढुङ्गाको अक्षर हुन्थ्यो । त्यसैले उनका बुबाले पनि उनलाई सारै माया गरे । नारीशिक्षाका लागि पहाड फोर्नुपर्ने त्यति बेलाको परिस्थितिमा पनि भारती खरेललाई उनका बुबाले कखरा पढाएका थिए । त्यतिले नपुगेर उनका बुबाले दक्षिण भारतका एक नैष्ठिक स्वामी शान्तानन्द योगीद्वारा भारती खरेललाई घरमै प्राथमिक शिक्षा दिलाएका थिए।

भारती खरेल सानैदेखि धार्मिक मनोवृत्तिमा गाँसिएकी थिइन् । सानैमा उनलाई उनकी फुपूले ‘ऊँ नमो भगवते वासुदेवाय’ तारक महामन्त्र प्रदान गरेकी थिइन् । त्यसपछि उनी साहित्यरचनामा पनि लागिन् । उनले किशोरावस्थामा नै साहित्यरचना गरेकी थिइन् । त्यस बेला नै उनी संस्कृतबाट नेपाली र हिन्दी भाषामा अनूदित ‘वेद’, ‘उपनिषद्’ आदि ग्रन्थहरूको अध्ययन गर्थिन् । उनले सुरुमा कविता लेखिन्; उनी पत्रसाहित्यमा पनि उन्मुख भइन् र धार्मिक विषयका रचनामा पनि उनको जाँगर चलिरहृयो । खास गरेर उनी वैवाहिक जीवनमा गाँसिएपछि साहित्यको आराधनामा समर्पित भएकी थिइन्।

भारती खरेलको बिहे २००९ साल मङ्सिर १८ गते काभ्रेपलाञ्चोककै चन्द्रिकानन्द खरेलसँग भएको थियो । त्यस बेला उनी चौध वर्षकी थिइन् र चन्द्रिकानन्द खरेल उन्नाईस वर्षका थिए। चन्द्रिकानन्द खरेल पत्नीका हरेक चाहनालाई आफ्नो कर्तव्य ठान्थे । भारती खरेलले बोलिसक्तानसक्तै चन्द्रिकानन्द खरेलले आफ्नी पत्नीको माग पुर्याइसकेका हुन्थे । चन्द्रिकानन्द खरेल जागिरे भएकाले कहिले मेची पुग्थे र कहिले काली पुग्थे । त्यस अवस्थामा पनि भारती खरेलले आफ्ना पतिलाई छाडिनन् । बिहेपछि उनी आफ्ना पतिसँगै विभिन्न जिल्लामा पुगेकी थिइन् । उनका पति वनविभागका रेन्जरदेखि प्रमुख जिल्ला अधिकारीसम्म भएका थिए । जागिरका जुनसुकै सीमामा बाँधिए तापनि आफ्नी पत्नीको व्यक्तित्व विकासका लागि चन्द्रिकानन्द खरेल सदैव जागरुक थिए।

भारती खरेल बिहेपछि उनका पति चन्द्रिकानन्द खरेलको आग्रहमा स्कुल प्रवेश गरिन् । अर्थात् बिहे गरेको एक जुगपछि उनी काठमाडौंको विजय मेमोरियल हाईस्कुलमा भर्ना भइन् । त्यस बेला उनी नवौँ कक्षामा भर्ना भएकी थिइन् । तर उनले जीवनमा एक वर्ष पनि काठमाडौंको स्कुले शिक्षा लिन सकिनन् । यसको कारण के थियो भने उनी भर्ना भएको केही महिनापछि चन्द्रिकानन्द खरेल ओखलढुङ्गा सरुवा भएका थिए । उनी पतिसँगै ओखलढुङ्गा गइन् । ओखलढुङ्गामा पनि उनी पढ्न थालिन् र त्यहीँबाट दसौँ कक्षा उत्तीर्ण गरिन् । एसएलसी दिने बेलामा उनका पतिको राजविराजमा सरुवा भएका कारण त्यसपछि उनले आफ्नो शैक्षिक योग्यता बढाउन सकिनन्।

भारती खरेल शिष्टताकी अजस्र स्रोत थिइन् । खरेल परिवारमाझ उनी चाँडोभन्दा चाँडो घुलमिल भएकी थिइन् । त्यसमाथि पति चन्द्रिकानन्द खरेलका हरेक भावना उनी छिट्टै बुझने गर्थिन् । त्यसैले श्रीमान् खरेलले जुनसुकै सुगम, दुर्गम विकट ठाउँ जहाँ गए तापनि श्रीमती खरेललाई कहिल्यै छाडेनन् । भारती खरेल आफ्ना पतिका पछि लाग्दै जाँदा कतै यिनले काव्य लेखिन्, कहिले उपन्यास लेखिन् र कहिले निबन्धहरू पनि लेखिरहिन् । तर त्यस बेला यिनले आफ्ना कृतिहरू प्रकाशनमा ल्याउन चाहिनन्। चन्द्रिकानन्द खरेलले हजारचोटि यिनलाई आफ्ना कृति प्रकाशनमा ल्याउन आग्रह गरे तर उनी भन्थिन् “समय आएपछि प्रकाशन गरौँला।”

भारती खरेलले २०१२ सालमा पहिलो सन्तान छोरी जन्माइन् । तर यिनकी छोरी बाँचिनन् । त्यसपछि उनका छोरा जन्मे दीपक खरेल । यी नेपाली सङ्गीतजगत्का प्रख्यात गायकमा परिचित भए । अनि चन्द्रिकागृह सरस्वतीगृहमा रूपान्तरित भयो।

भारती खरेल माइततिरकी सम्पन्न थिइन् । त्यसै गरी उनको घर पनि आर्थिक रूपमा सम्पन्न थियो तापनि उनले व्यापार व्यवसायमा लाग्ने रहर गरिन् । सोहीअनुरूप उनले घरमा स्वीटर बुन्ने मेसिनहरू राखिन् । उनले केही महिलाहरूलाई रोजगारी दिइन् । तर त्यो पेसा यिनले धेरै दिन चलाइनन् । त्यसपछि यिनी साहित्य र सांस्कृतिक कार्यमा मात्र एकोहोरो लागिन्।

भारती खरेल मानवअधिकारवादी थिइन् । उनी समाजसेवामा पनि डटेर लागिन् । उनी काठमाडौं जिल्लाको सनातन धर्म सेवा समितिकी उपाध्यक्ष भइन्; उनी विश्व हिन्दू कर्मकाण्ड महासङ्घकी आजीवन सदस्य र वीर अस्पताल स्वयंसेविका सङ्घकी सदस्य भइन् । उनी भोकानाङ्गा गरिबहरूको सकेको सेवा गर्थिन् । उनले मठमन्दिरको निर्माणमा पनि आफ्नो गच्छे अर्पण गरिन्।

भारती खरेल २०४९ साउन ४ गते स्वर्गीय भइन् । यस घटनाले पति चन्द्रिकानन्द खरेल र छोरा दीपक खरेल साह्रै रोए । साथै त्यस वियोगमा उनका आफन्तहरू र उनलाई चिन्नेजान्नेहरूले पनि मन दुखाए । त्यतिमात्र होइन नेपाली वाङ्मयकी एउटी सर्जक नेपाली आकाशबाट सधैँका लागि हराइन् । तर पनि नेपाली भाषासाहित्यमा भारती खरेल सधैँ बाँच्ने काम उनैका कृत्यले गरे । उनी यस माटोमा सधैँ मगमगाउने भइन्।

भारती खरेल स्वर्गीय भएपछि उनका पति चन्द्रिकानन्द खरेल र छोरा दीपक खरेल भएर उनका नाउँमा गुठी खोले। ‘भारती खरेल प्रतिष्ठान’ नेपाली वाङ्मयका क्षेत्रमा चाँडै सुपरिचित बन्यो । स्रष्टाका नाउँबाट स्थापित थोरै कोटिका संस्थामा यस प्रतिष्ठानले पनि आफ्नो ठाउँ ओगट्यो । यसका साथै नइको सम्पादनमा उनका कृतिहरू माथि गरिएको बृहत् समालोचनात्मक ग्रन्थ ‘भारती खरेल : सृजना र समीक्षा’ (२०५१) प्रकाशनमा आयो । त्यतिमात्र होइन यिनका पति र छोराका इच्छाले भारती खरेलका नाउँमा ठाउँठाउँ नै धारा बने, पाटी बने, चौतारा बने। भारती खरेलका नाउँमा जति स्मारक बने ती सबै उल्लेखनीय बने । उदाहरणका लागि भन्ने हो भने काठमाडौंस्थित श्रीपशुपतिनाथको पश्चिमद्वारको नजिक श्रीपशुपति जलधारा बने । त्यस ठाउँमा प्राचीन शैलीका पन्ध्रवटा धारा बने । पति र छोराको सक्रियतामा भारती खरेलका स्मृतिमा स्तम्भहरू स्थापित भइरहे ।स्वर्ग गएपछि पनि उनी जताबाट पनि जनआँखामा पुगिरहिन्।

भारती खरेलको प्रतिभाले उनी सधैँ चम्किरहेकी छिन् । उनको भौतिक देह समाप्त भए पनि उनका कृतिले नेपाली भाषासाहित्यको डाँडाकाँडा ढाकेका छन् । उनका रचना लिपिका माध्यमबाट होस् या श्रव्यका माध्यमबाट होस्; नेपाली जनहृदयमा पुगेका छन् । अनि उनका भाकाहरू विविध तरिकाले प्रेरक रूपमा अभिलिखित भई नेपाली समाजमा अजर बनेका छन्।
[email protected]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15243