कम्यूनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकबाद लाद्ने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन्।

सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । किन त ? जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरुको अनुपस्थितिलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा चलिरहेको कान्तिपुरमा खबर छ।

सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङेन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रमक देखिन्छन् ।

‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) आफ्नै पार्टीका शीर्षस्थ नेतृत्व उपस्थित रहेको गृहजिल्लाकै कार्यक्रममा नगएका हुन्,’ जिल्लास्थित कांग्रेसका एक नेता भन्छन । जुन कार्यक्रममा पार्टी नेतृत्वले एमाले अध्यक्ष केपी ओली र बाम गठबन्धनप्रति चर्को बिरोधमा अभिव्यक्ति दिएको थियो ।

बाम गठबन्धनबिरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ । यसका पछि केही तर्क पनि छन् ।

०४८ देखि निरन्तर चुनाव लडै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङेनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको एक नम्वरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफूजसरी पनि चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’ संग जोडेर हेरिएको छ ।

यसका पछि सिटौलाका भने भिन्नै तर्क छन् । आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेसका कार्यकर्ताको दबाव र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको उनी तर्क गर्छन । ‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस भनेको छु’ उनले भने,‘म्याच फिक्सिङका कुरा बेकारका कुरा हुन्, एमाले र माओवादी नेतृत्वसंग यो बीचमा मेरो छलफल भएको छैन । नेताहरुले के गर्छन् थाहा छैन तर मतदाताहरुले झापामा प्रश्न उठाएका छन ।’

राप्रपा नेता लिङेनपनि ‘म्याचफिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन् । ‘मलाई त विश्वास छैन, तैपनि त्यसको जबाफ दिने म होइन, केपी ओलीसंगनै सोध्नुहोला’ उनले भने । भित्रभित्र कांग्रेसलाई सघाउने हो कि भन्ने संशय चलीरहेकै बेला लिङेनकै आग्रहमा ओलीले दोस्रोपटक विहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्वोधन गर्ने भएका छन् । ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो ।

त्यसो त सिटौलाको निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नउठाउनुमा एमाले अध्यक्ष ओलीको आफ्नो स्वार्थ पनि जोडिएको छ । ओली र सिटौलाले प्रतिस्पर्धा गरेकै निर्वाचन क्षेत्रमा राप्रपाको प्रभाव मानिन्छ । संभवत: राप्रपाको देशभरमै सबभन्दा राम्रो प्रभाव क्षेत्रमध्येका यी दुई निर्वाचन क्षेत्र पर्छन् । सिटौला समानुपातिक सूचीमा बसेको भए राप्रपाको गठबन्धन यहाँ पनि कांग्रेससंगै बन्थ्यो । राप्रपासंगको गठबन्धनमा काग्रेसकै चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई ओलीसंगै प्रतिस्पर्धा गराउने कि भन्ने अनौपचारिक संवाद पनि कांग्रेस बृत्तमा चलाईएको थियो, जसबाट ओली झस्केका थिए । कांग्रेस नेता शर्माले पनि यी चर्चालाई इन्कार गरेनन । ‘मलाई यस क्षेत्रबाट बाहिरियाउन पर्छ भन्ने मनसाय सम्भवत एमालेमा थियो’ शर्माले भने । ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ‘इन्गेज’ गराईदिने कांग्रेसको यो रणनीति त्यतिबेला असफल भयो, जतिबेला सिटौला चुनावी मैदानमा आउने भए । सिटौला मैदानमा आएपछि राप्रपाको गठबन्धन यस जिल्लामा एमाले र माओवादी केन्द्रसंग जोडिन पुग्यो । जसले ओलीका लागि पनि बाटो सहज हुन पुग्यो ।

एमालेका स्थानीय नेता एवं ३ नम्वर निर्वाचन क्षेत्रका चुनाव परिचालन समितिका संयोजक समेत रहेका पुष्पराज पोखरेल अघिल्लो भन्दा पछिल्लो तर्कसंग सहमत छन् । यद्यपि बाम गठबन्धनले अन्य ठाउंमा कांग्रेससंग भएको तिक्कता भने झापाको हकमा नभएको बताउँछन ।

‘तीन नम्बर क्षेत्रमा कांग्रेस र बाम गठबन्धनका नेताहरु व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिएका छैनन् । एमालेले भोट दिइहाल्छ कि भन्ने आसमा कांग्रेस पनि आक्रामक छैन, एमालेले पनि प्रतिनिधिसभामा उम्मेदवार नभएकाले सफ्ट कर्नर राख्नु स्वभाविक हो’ उनले भने ।

उनको भनाइमा ओली र सिटौलाबीचको ‘म्याच फिक्सिङ’ भन्दा पनि एमालेकै बाध्यताका कारण राप्रपासंग गठजोड भएको हो । ‘हो अध्यक्ष कमरेडकै क्षेत्रमा (निर्वाचन क्षेत्र ५) कांग्रेस र राप्रपा मिल्दा हामीलाई (एमाले) लाई चुनौति थियो, स्थानीय तहकै चुनावले त्यस्तो अंकगणित बनेको थियो’ उनले भने ।

ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तह मध्ये गौरादह नगरपालिका कांग्रेस, गौरीगन्ज गाउँपालिकामा राप्रपाले जितेको छ । दमक नगरपालिका र कमल गाउँपालिकामा एमालेले जितेको छ । कमलमा कांग्रेससंग मत बराबर भएको थियो । यद्यपि गोलाप्रथाबाट एमालेले जितेको हो । दमकमा पनि दोस्रो प्रतिस्पर्धामा राप्रपा नै थियो ।



.















Comments

comments