बुटवलमा गुञ्जिए .. कन्दराको हङकङ पोखरा

एचकेनेपाल डट कम संवाददाता –

बुटवल, ” बिदेशिएर गईन् उनी मलाई छोडेर तर मैले नसम्झेर “भन्दै शनिबार साँझ करीब आठ बजे बुटवलस्थित बुटवल मण्डपको नेपालआइस प्रादेशिक संगीत यात्राको स्टेजमा देखापरे गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्ड कन्दराका सहकर्मीहरुसंग।

करीब २२ बर्षअघि बुटवलमा कन्सर्ट गर्न आएको सम्झदै गायक विवेकले यतिको बर्षपछि फेरि आएको छु ,बुटवलबासीको साथ पाउने आशामा छु भन्दै उनले लगालग तिमी पारि त्यो गाउँमा , डाडापारिको , चञ्चले कान्छीको जोवन, भेडी गोठैमा.,चद्रकोटकी नानी, कता हिडेकी कुन ठाउँमा, हङकङको बजार डुली, तगारोमा रुमाल, लेककी हे माया र हङकङ पोखरालगायतका आफ्ना चिरपरिचित गीतहरुसंगै गायक तथा संगीतकार राम थापालाई समर्पित गर्दै उनको गीत लेकाली हे चोयाको डोको गरी १४ वटा गीतहरु डेढ घण्टाको अवधिमा सकाए।

२२ बर्ष अघिको हिट गीत लेककी हे माया २२ बर्षपछि पनि उत्तिकै मन पराइरहेको उपस्थित दर्शकहरुको कन्दरा ब्याण्डका गीतहरुको तालमा झुमिरहेकोबाट स्पष्ट हुन्थ्यो।

२५ बर्ष अघिदेखि पोखराबाट सुरुवात भएको बिषेशत लोक -पप तथा मेलोडी गीतहरु गाउने कन्दरा ब्याण्डका प्रत्येक गीतहरुमा बुटवलका दर्शकहरु उनीसंगै गाउदै रमाइरहेको देखिन्थ्यो।

बुटवल उप- महानगर पालिकाका उप -मेयर श्रीमती गोमा आचार्यले स्टेजको रिबन काटेर उद्घाटन गर्नु भएको नेपालआइस प्रादेशिक संगीत यात्राको सुरुवातमा बुटवलकै स्थानीय अमेध ब्याण्ड र नेपाल आइडलमा टप ५ मा पर्न सफल बुटवलकै प्रतिभा अमित बरालले आफ्नो प्रस्तुति दिएका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम स्थानीय बुटवल युवा परिवारको संयोजनमा भएको थियो । कार्यक्रमबाट उठेको रकमबाट राजमार्गमा वृक्षारोपणसंगै पुराना खेलाडीहरुलाई सकेको आर्थिक सहयोग गर्ने बुटवल युवा परिवारका भक्त थापाले बताए।

नेपालको संबिधानले गठन गरेको सातवटा प्रदेशको मुख्य ७ वटा शहरहरुमा
संगीतको माध्यमबाट मनोरंजन दिने अभिप्रायले नेपालआइसको प्रयोजनमा र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा नेपालआइस प्रादेशिक संगीत यात्रा कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख शहर बुटवलबाट सुरु गरिएको र अब छिट्टै बाँकी ६ प्रदेशमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए।





Comments

comments

Leave a Reply

27488