नेपाली बालकलाई यौनशोषण गर्ने इयूका पूर्वकर्मचारी पक्राउ

नेपालमा २५ भन्दा धेरै बालकमाथि यौनशोषण गरेका युरोपियन युनियन(इयू)का पूर्वकर्मचारी पाउल म्याकार्थी क्यानडामा पक्राउ परेका छन् ।

इयूका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी परामर्शदाता बनेर काम गरेका पाउल क्यानेडियन नागरिक हुन् । करिब डेढ महिनाअघि क्यानडा प्रहरीले उनलाई नेपालमा गरेको अपराधमा पक्राउ गरेको हो । नेपालमा रहँदा पाउल बौद्धस्थित एक संस्थामा समाजसेवी बनेका थिए । सोही संस्थाका बालकलाई आफ्नो डेरामा लैजाने र यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको छ । क्यानडा पुगेपछि उनको साथबाट बरामद मोबाइल तथा ल्यापटपबाट अपराध पत्ता लागेको खबर नवराज मैनालीले नयाँपत्रिकामा लेखेका छन्।

पाउलले बालकहरूको गोप्य भिडियो खिच्नुका साथै यौनसम्बन्धी भिडियोहरू देखाउने गरेका थिए । क्यानडामा ‘चाइल्ड पोर्नोग्राफी’ सम्बन्धी अपराधमा उनीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानमा क्यानडा प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग सहकार्य गरेको छ ।

पाउलविरुद्ध नेपाल प्रहरीले समेत मुद्दा दायर गर्ने तयारी गरेको छ । उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिने सिआइबीका डिएसपी कवित कटवालले बताए । आफ्नो कार्यकाल सकिएपछि उनी अनाथालयमा सहयोगका नाममा नेपाल आउने गरेका थिए । पाउल गत मंसिरमा नेपालबाट क्यानडा फर्किएका थिए ।





Comments

comments

28263