भूमाफियामाथि सरकारको अर्को प्रहार, हडपिएको २१ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारको १ सय १३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेकोे सरकारले भूमाफियाहरूबाट हडपिएका देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ ।

सोही क्रममा सरकारले सिराहामा भूमाफियाद्वारा साविकको सोनमगी गाविस मझौरा–८ मा विभिन्न बहानामा हडपिएको करोडौं रुपैयाँ मूल्य पर्ने २१ बिघा जग्गा सरकारको नाममा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पहलमा जिल्ला प्रशासन कार्यालय सिराहामार्फत व्यक्तिगत रूपमा हडपिएको २१ बिघा जग्गा सरकारकै नाममा फिर्ता गरिएको खबर राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

भूमाफियाले नक्कली छोरी खडा गरी सरकारको नाममा रहेको जग्गा हडपिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट सरकारको नाममा हुनुपर्ने जग्गा व्यक्तिको नाममा दर्ता भएको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सो जग्गा सरकारको नाममा ल्याउने फैसला गरेका हुन् । काठमाडौं नक्सालकी मायादेवी थापाको नाममा सिराहा जिल्ला साविकको सोनमगी मझौरा–८ मा पर्ने २० बिघा १९ कट्ठा आधा धुर जग्गा दर्ता भएको थियो ।
मायादेवीको २०३३ सालमा निधन भयो । मायादेवीको नाममा जग्गाको नापनक्सा रहे पनि उनी अविवाहित र निःसन्तान थिइन् । मायादेवीको निधनपछि सोनमती मझौरा गाविस कार्यालयले हकवाला कोही नभएकाले उक्त जग्गाहरू सरकारको नाममा आपुताली कायम हुन जाने जिल्ला प्रशासनलाई लिखित जानकारी गराएको थियो ।

तत्पश्चात् जिल्ला प्रशासन कार्यालय सिराहाले कानुनी प्रक्रिया पूरा गर्ने क्रममा कोही हकदाबी गर्न नआएपछि उनको नाममा रहेको जायजेथा १३ पुस २०५७ मा सरकारको नाममा ल्याएको थियो । तत्कालीन श्री ५ को सरकारको नाममा आपुताली जग्गा कायम भएपछि केही व्यक्तिले सरकारको नाममा गइसकेको सो जग्गा हडप्ने उद्देश्यसाथ जिल्ला प्रशासन कार्यालयको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गराए । सो रिटउपर सर्वोच्चले २० पुस २०६१ र ४ भदौ २०६६ मा उत्पे्रषण आदेश जारी गर्दै प्रशासनको १३ पुस २०५७ को निर्णय बदर गर्न मायादेवी नाम गरेका जग्गाधनीले मागदाबी गरेकाले वास्तविक जग्गाधनी पत्ता लगाउन र यसबारे जाँचबुझ गरी आवश्यक निर्णय लिन अदालतले आदेश दिएको थियो । यसरी जग्गा आफ्नो नाममा गराउन मायादेवी हमाल, मायादेवी थापा क्षेत्रिनी, मायादेवी थापा क्षेत्री र अशोकजंग थापा क्षेत्री लागेका थिए ।





Comments

comments

28260