जनसम्पर्क समिति अमेरिकाद्वारा बाढीपीडितका लागि एक करोड बढी राहत संकलन

अमेरिका, नेपाली जनसम्पर्क समिति, अमेरिकाले रसुवास्थित भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगार्थ सञ्चालन गरेको आर्थिक राहत संकलन अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशानुसार सञ्चालन गरिएको उक्त अभियानबाट रु. १,०५,३३,९४४/- (एक करोड पाँच लाख तेत्तीस हजार नौ सय चवालीस रुपैयाँ) राहत रकम संकलन भएको समितिका सभापति मुनिन्द्र नेम्बाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

अभियानलाई सफल बनाउन अमेरिकाका विभिन्न राज्यमा रहेका च्याप्टर समितिहरू सक्रिय रूपमा परिचालित भएका थिए। समितिले केही दिनअगाडि विज्ञप्ति जारी गर्दै संस्थामा आबद्ध सदस्य, शुभेच्छुक तथा कांग्रेसजनसँग मात्र स्वैच्छिक आर्थिक सहयोगका लागि अपिल गरेको थियो।

राहत संकलन अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न संस्थाका वरिष्ठ उपसभापति विनोद भट्टको संयोजकत्वमा महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोख्रेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत र सदस्य हरि खनाललगायतले समन्वयकारी भूमिका निर्वाह गरेको समितिले जनाएको छ।

सभापति नेम्बाङले राष्ट्रिय विपत्तिको यो कठिन घडीमा नेपाली समुदायले देखाएको मानवीय संवेदना, सद्भाव, सहयोग र एकता महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।

उनले अभियानलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण च्याप्टर समिति, केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सहयोगी दाताहरूप्रति हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गरे।

संकलित रकम एकमुष्ट रूपमा “नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष” मार्फत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी पठाइएको समेत सभापति नेम्बाङले स्पष्ट पारेका छन्।

 





Comments

comments

140968