सोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गरेका छन्।
द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताएका छन् । राष्ट्रपति लीले सन् २०२५ जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिना उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गर्दै आएका भए पनि प्योङयाङले त्यसप्रति अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धका बाबजुद आफ्नो कानूनमै आफूलाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्थापित गरेको छ । राष्ट्रपति लीले आणविक हतियारको नयाँ उत्पादन तथा आणविक सामग्रीको आपूर्ति रोक्दै हालको क्षमतालाई सीमित गर्नु महत्त्वपूर्ण उपलब्धि हुने बताएका छन्।
तर आलोचकहरूले यस्तो नीतिले उत्तर कोरियालाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्वीकार गर्ने जोखिम रहेको र प्योङयाङले आफ्नो शस्त्रागार नत्यागी प्रतिबन्धमा राहत पाउन सक्ने बताएका छन्।
यसैबीच उत्तर कोरियाले चीन र रुसबाट महत्त्वपूर्ण सहयोग पाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनलाई तीन पटक भेटेका थिए । तर सन् २०१९ को हनोई शिखर वार्तामा प्रतिबन्ध राहत र आणविक निशस्त्रीकरणबारे सहमति हुन नसकेपछि दुई देशबीचको कूटनीतिक प्रक्रिया रोकिएको थियो। रासस


