सुरुङ खन्ने काम पूरा (ब्रेक थ्रु), एक वर्ष पहिल्यै बन्यो सुरुङ

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम पूरा (ब्रेक थ्रु) भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका हुन् । बबई नदीबाट सुरुङ खन्दै अगाडि बढेको प्रविधियुक्त मेसिन प्रधानमन्त्री ओलीले स्विच दबाएपछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा निस्किएको छ ।

चुरे क्षेत्रको पहाडमा १२.२ किलोमिटर लामो सुरुङ खनिएको हो । चुनौतीपूर्ण मानिएको सुरुङ खन्ने काम तोकिएभन्दा एक वर्षअगाडि सकिएको छ । नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ निर्माण गरिएको हो । अब भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसालेर बिजुली उत्पादन र सिँचाइका लागि आवश्यक काम थालिने प्रधानमन्त्री ओलीले बताए । ओलीले बिजुली उत्पादन र सिचाइँको काम तत्कालै सुरु हुने स्पष्ट पारे ।

अब भेरीगंगा नगरपालिकास्थित चिप्लेमा बाँध निर्माण प्रक्रिया अघि बढ्नेछ । तोकिएभन्दा एक वर्षअगाडि नै सुरुङ तयार भएकाले बाँकी कामले पनि गति लिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपालमा पहिलोपटक मेसिनबाट सुरुङ निर्माण भएको छ । स्वदेशी लगानीबाटै चुनौतीपूर्ण काम सफल भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो देशकै नमुना आयोजना बनेको छ । बाँध निर्माण र बिजुली उत्पादन प्रक्रिया पनि धमाधम अगाडि बढाउन म विभागीय मन्त्रालयलाई निर्देशन दिन्छु ।’

प्रधानमन्त्री ओलीले देशका अन्य आयोजना पनि तोकिएकै अवधिमा सम्पन्न गर्न सरकार लागिपरेको बताए । ललितबहादुर बुढाले यो समाचार अन्नपूर्णपोष्टमा लेखेका छन्।





Comments

comments

28295