कोलोराडोमा सामूहिक तीज पूजा आयोजना गरिँदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा कोलोराडोमा विशेष सामूहिक तीज पूजा आयोजना हुने भएको छ।

नेपाली घर तथा दिदीबहिनी समूह कोलोराडोको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम सोमबार, सेप्टेम्बर १४ का दिन दुई समूहमा सञ्चालन हुनेछ।

हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। भगवान् शिव र माता पार्वतीको श्रद्धा, भक्ति र समर्पणसँग जोडिएको यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको मंगलमय कामनासहित व्रत तथा पूजा गर्ने परम्परा रहिआएको छ। पछिल्लो समय तीज धार्मिक आस्थासँगै महिलाहरूबीचको भेटघाट, आत्मीयता, पारिवारिक सम्बन्ध, सामाजिक एकता र सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा समेत विकसित हुँदै आएको छ।

प्रवासमा आफ्नो धर्म, संस्कृति, परम्परा, मूल्य–मान्यता र मौलिक नेपाली पहिचानलाई संरक्षण तथा नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको दिदीबहिनी समूहका अध्यक्ष शान्ति भुषालले बताएकी छिन्।

विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली समुदायका लागि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले आफ्नो मौलिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। नयाँ पुस्ताका बालबालिका तथा युवाहरूलाई नेपाली चाडपर्व, धार्मिक संस्कार र परम्पराबारे परिचित गराउँदै ‘जहाँ रहे पनि आफ्नो जरा र संस्कृतिसँग जोडिइरहने’ वातावरण निर्माण गर्नु कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष रहेको नेपाली घरका अध्यक्ष गंगा चौलागाईं बताउँछन्।

व्रतालु दिदीबहिनी तथा आमाहरूलाई समयअनुकूल सहभागी हुन सहज होस् भन्ने उद्देश्यले तीज पूजा दुई समूहमा सञ्चालन गरिने भएको छ।

पहिलो समूहको पूजा बिहान ९ बजेदेखि सुरु हुनेछ, जसको धार्मिक विधिअनुसारको पूजा गुरु चिरञ्जीवी पौडेलबाट सञ्चालन हुनेछ। त्यसैगरी दोस्रो समूहको पूजा दिउँसो ३ बजेदेखि सञ्चालन हुनेछ। उक्त समूहको पूजा धार्मिक विधिअनुसार गुरु जीवन बरालबाट सञ्चालन हुनेछ।

दुई समूहमा पूजा सञ्चालन गर्ने व्यवस्थाले काम तथा अन्य पारिवारिक व्यस्तताका कारण एउटै समयमा उपस्थित हुन नसक्ने व्रतालु दिदीबहिनी, आमाहरूलाई समेत सहभागी हुने अवसर मिल्ने तथा व्यवस्थित तरिकाबाट पूजा सञ्चालन गर्न सहज हुने अध्यक्ष भुषालले बताएकी छन्।

नेपाली घर तथा दिदीबहिनी समूहको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमलाई केवल पूजा–आराधनाको कार्यक्रमका रूपमा मात्र नभई नेपाली संस्कृति, धार्मिक आस्था र सामाजिक सद्भावलाई प्रवासमा पुस्तान्तरण गर्ने साझा अभियानका रूपमा हेरिएको छ।

तीजका अवसरमा दिदीबहिनीहरू एकै ठाउँमा भेला भएर पूजा–आराधना गर्नुका साथै आफ्ना अनुभव, सुख–दुःख र भावनाहरू साटासाट गर्ने परम्परा पनि नेपाली समाजमा लामो समयदेखि रहिआएको छ। यस्ता भेटघाटले प्रवासमा रहेका नेपाली परिवारबीच आत्मीयता र सामाजिक सम्बन्ध अझ बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

आयोजक संस्थाहरूले सम्पूर्ण व्रतालु दिदीबहिनी, आमाहरू तथा नेपालीभाषी समुदायका इच्छुक सदस्यहरूलाई आफूलाई सहज हुने समूहमा उपस्थित भई तीज पूजा तथा धार्मिक कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्। यसबारे थप जानकारी चाहिएमा नेपाली घर तथा दिदीबहिनी समूहका पदाधिकारीहरूसँग सम्पर्क गरी जानकारी लिन सकिने पनि बताइएको छ। पूजाका लागि आवश्यक पर्ने सौभाग्यका सामग्रीहरू कार्यक्रमस्थलमै खरिद गर्न पाइने व्यवस्था गरिने र खर्च कटाएर बाँकी रहेको रकम नेपाली घरको खातामा जम्मा गरिने अध्यक्ष भुषालले खुलाएकी छन्।

“धर्म र संस्कृतिले पुस्तालाई जोड्छ, परम्पराले पहिचान जोगाउँछ।” प्रवासमा नेपाली मौलिकता र संस्कृतिको संरक्षणका लागि आयोजना हुन लागेको यस तीज पूजा कार्यक्रममा सबैको उत्साहजनक सहभागिता र सहयोगका लागि आयोजक संस्थाका पदाधिकारीहरूले आग्रह गरेका छन्।





Comments

comments

140746