बाढीपीडित नेपालका लागि BDA Colorado को भर्चुअल रक्तदान अभियान

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। सेप्टेम्बर १ देखि २१ तारिखसम्म सञ्चालन हुने यस अभियानमार्फत अमेरिकाका विभिन्न स्थानमा रहेका नेपाली तथा अन्य इच्छुक रक्तदातालाई रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ।

नेपालमा विपद्को कठिन अवस्था रहेको बेला टाढा रहेर पनि मानवीय सेवामार्फत सहयोग गर्ने उद्देश्यले अभियान आयोजना गरिएको BDA Colorado का अध्यक्ष नवराज मरासेनीले बताएका छन्। उनका अनुसार रक्तदान केवल रगत दिने कार्य मात्र नभई पीडामा रहेका मानिसप्रतिको मानवीय संवेदना, सहकार्य र ऐक्यबद्धता व्यक्त गर्ने महत्वपूर्ण माध्यम हो।

कसरी सहभागी हुने?
यो भर्चुअल रक्तदान अभियान भएकाले रक्तदाताले अभियानको लिङ्कमार्फत Vitalant मा आफ्नो नजिकको रक्तदान केन्द्र छनोट गरी उपलब्ध मिति र समयअनुसार अपोइन्टमेन्ट लिन सक्नेछन्। रक्तदान गर्दा BDA Colorado को भर्चुअल रक्तदान अभियानलाई छनोट/सम्बन्धित अभियानअन्तर्गत दान गरेमा उक्त रक्तदान यस अभियानमा समावेश हुनेछ।

‘Donate Now’ बटनमा क्लिक गरी नजिकको Vitalant केन्द्रमा समय बुक गर्न सकिनेछ।

BDA Colorado ले समुदायका सदस्यहरूलाई आफ्नो अनुकूल स्थान र समयमा रक्तदान गरी अभियानमा जोडिन आग्रह गरेको छ। आयोजकका अनुसार, आफू जहाँ भए पनि, नजिकैको Vitalant केन्द्रमा रक्तदान गरेर नेपालका बाढीपीडितप्रति आफ्नो साथ र सद्भाव व्यक्त गर्न सकिनेछ।

रक्तदान अभियानमा BDA Colorado को निरन्तर सक्रियता
BDA Colorado विगतदेखि नै रक्तदानसम्बन्धी सामाजिक तथा मानवीय अभियानमा सक्रिय रहँदै आएको छ। यसअघि संस्थाले २०२६ मा नेपाली घरसँगको सहकार्यमा दुई पटक तथा INLS Colorado सँगको सहकार्यमा एक पटक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। त्यस्तै, रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुन १४ मा Zoom मार्फत विशेष रक्तदान सचेतना कार्यक्रम (Zoom Talk) समेत आयोजना गरिएको थियो।

संस्थाले रक्तदानलाई नियमित मानवीय सेवाको अभियानका रूपमा अघि बढाउँदै समुदायमा रक्तदानसम्बन्धी सचेतना र सहभागिता बढाउने प्रयास गर्दै आएको जनाएको छ।

BDA Colorado का अध्यक्ष नवराज मरासेनीले नेपाली समुदायलाई यसपटकको भर्चुअल रक्तदान अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। “हामी भौगोलिक रूपमा नेपालबाट टाढा भए पनि मानवताको भावनाले हामीलाई नजिक जोड्न सक्छ। हाम्रो सानो प्रयास र एउटा थोपा रगत पनि कसैका लागि जीवनको आशा बन्न सक्छ,” मरासेनीले भने।

नेपालमा विपद्का बेला पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै आयोजना गरिएको यस अभियानले नेपाली समुदायको मानवीय भावना, सामाजिक उत्तरदायित्व र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

BDA Colorado भर्चुअल रक्तदान अभियान अवधि: सेप्टेम्बर १ देखि २१ सम्म रहनेछ। यसको मुख्य सन्देश: नेपालका लागि, नेपालीका लागि, मानवताका लागि हो।





Comments

comments

140743