भोटेकोशीको पीडामा युकेका नेपाली एकजुट, उठ्यो नेपाललाई जलवायु क्षतिपूर्ति दिनुपर्ने आवाज

लन्डन — नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरूको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन बेलायतको मेडवेमा बसोबास गर्ने नेपाली समुदाय जुटेका छन्।

गोर्खा नेपाली समाज मेडवे (Gurkha Nepalese Community Medway GNCM) को आयोजनामा आइतबार ६ सेप्टेम्बर २०२६ मा जिलिङ्घामस्थित स्थानीय हिन्दू मन्दिरमा शोकसभा तथा सहानुभूति कार्यक्रम आयोजना गरिएको हो।

नेपालको भोटेकोशी लगायतका क्षेत्रमा आएको प्रलयकारी बाढीको क्षतिप्रति संवेदनशील बन्दै आयोजकले पूर्वनिर्धारित तीज उत्सव स्थगित गरेर उक्त श्रद्धाञ्जली सभा गरेका थिए।

नेपाली र ब्रिटिश राष्ट्रिय गानका साथै दुई मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रममा नेपाली पण्डित संघ युकेका सदस्य पण्डित वासुदेव सापकोटाले पूजा तथा स्वस्तिवाचन गरेका थिए।

कार्यक्रममा बेलायती जनप्रतिनिधिहरूले नेपाललाई जलवायु न्याय र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याए। मेडवे काउन्सिलकी डेपुटी लिडर टेरेसा मुरेले कार्बन उत्सर्जनमा नेपालको भूमिका न्यून रहे पनि जलवायु परिवर्तनको गम्भीर र विनाशकारी असर भोग्नुपरेकोप्रति चिन्ता व्यक्त गरिन्।

“विश्वका ठूला र बढी प्रदूषण फैलाउने राष्ट्रहरूका कारण नेपालले यो क्षति भोग्नुपरेको छ,” मुरेले भनिन्, “यस्तो अवस्थामा साना सहायता मात्र होइन, ठूला देशहरूले नेपाललाई निश्चित क्षतिपूर्ति दिनु नै न्यायसंगत हुन्छ।”

काउन्सिल लिडर भिन्स मेपलले मेडवेसँग भगिनी सम्बन्ध रहेको पोखरा आसपासका क्षेत्रमा परेको असरप्रति गहिरो समवेदना व्यक्त गर्दै बेलायती सेनामा कार्यरत दक्ष गोर्खा इन्जिनियरहरूलाई नेपालको बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा पठाउन सम्बन्धित निकायमा सुझाव दिइसकेको जानकारी दिए।

नेपाली मूलकी पहिलो बेलायती मेयर काउन्सिलर निना गुरुङले गोर्खाली इन्जिनियरहरूलाई आफ्नै मातृभूमिको पुनर्निर्माणमा खटाउन पाए त्यसले भावनात्मक र प्राविधिक रूपमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्। त्यो कार्य पूरा गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको र सकारात्मक परिणामप्रति आशावादी रहेको बताइन्।

विशेष कारणवश उपस्थित हुन नसकेका बेलायती प्रतिनिधिसभा सदस्य (एमपी) हरू ट्रिस्टन ओसबोर्न, नौसभा खान र लरेन एडवार्ड्सले लिखित तथा भिडियो सन्देशमार्फत बाढीको क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका थिए।

मेडवेका मेयर काउन्सिलर डगलस हामान्डिश, हाइ काउन्टी सेरिफ मार्टिन लुकहर्स्ट र डेपुटी लेफ्टिनेन्ट डा. गिल फार्गरले पनि कार्यक्रमप्रति समर्थन जनाएका थिए।

कार्यक्रमका क्रममा संकलन भएको राहत रकम नेपालको प्रधानमन्त्री राहत कोषमा दाखिला गर्ने गरी गोर्खा नेपाली कम्युनिटीका अध्यक्ष ज्ञानेन्द्र राईलाई हस्तान्तरण गरिएको छ।

नेपालका लागि बेलायत सरकारले घोषणा गरेको ५० लाख पाउण्ड (£5 Million), नेपाली रुपैयाँ एक अर्ब बराबरको आपत्कालीन सहायताप्रति पनि आयोजकका तर्फबाट आभार व्यक्त गरियो।

केन्ट क्षेत्रभरि राहत कोष संकलनमा सक्रिय पूर्वमेयर निना गुरुङ, मन्दिर व्यवस्थापन समिति, गोर्खा फायर, शिव राई र मुस्लिम समुदाय लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजकका तर्फबाट अध्यक्ष ज्ञानेन्द्र राईले धन्यवाद तथा आभार प्रकट गर्नुभयो।

कार्यक्रमको समापनमा नेपालको राष्ट्रिय झण्डाको वरिपरि दीप प्रज्वलन गरी बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गरिएको थियो।

भूमिराज राई –





Comments

comments

140739