फ्रान्समा यो बर्षकै ठूलो कार्यक्रम, यसरी मनाईयो नयाँ वर्ष

प्रकाश सापकोटा

पेरिस, फ्रान्स । फ्रान्सका १२ वटा नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा पेरिसमा भब्यरुपमा नयाँ बर्षको कार्यक्रम सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी थिए। केहि दिन आगाडिमात्र फ्रान्स आएका नवनियुक्त राजदूत अधिकारिलाई फ्रान्सवासी नेपालीहरुलाई पहिलोपटक एकैसाथ भेट्ने अवसर जुटेको थियो। अध्यक्ष मल्ल र राजदूत अधिकारीले संयुक्तरुपमा पानसमा दियो बलेपछि नेपाली राष्ट्रिय गानबाट औपचारिकरुपमा कार्यक्रममा सुरुवात गरिएको थियो।

उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा हालसालै फ्रान्समा स्थापना भएको नेपाली कलाकार समाज (इनास)का कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए। आयोजक संस्थाका अध्यक्षहरुले छोटो मन्तब्य राख्दै संयुक्तरुपमा कार्यक्रम गर्न पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि सबै संघ संस्थाहरु मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम आयोजना गर्ने सस्थाहरु एनआरएनए फ्रान्स, नेपाली संस्कृतिक गृह फ्रान्स, एकता समाज फ्रान्स, पकोफेन फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, म्याग्दी समाज फ्रान्स, गोर्खाली समाज फ्रान्स, प्रवासी नेपाली एकता मंच फ्रान्स, जन सम्पर्क समिति फ्रान्स, इनास फ्रान्स र तामांग समाज फ्रान्स रहेका थिए।

नवनियुक्त राजदूत अधिकारिलाई सबै संघ संस्थाका अध्यक्षहरुले खादा ओडाई स्वागत गरेका थिए। राजदूत अधिकारीले फ्रान्सस्थित नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने बताउदै आफूलाई स्वागत गर्नु भएकोमा धन्यवादका साथै सबैलाई नयाँ बर्षको शुभकामना दिएका थिए।

संस्कृतिक कार्यक्रमकै क्रममा इनास फ्रान्सका बिजेताहरु विजय लामा र वर्षा चुडालले नेपाली गीत गाएर र पुजा अधिकारीले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए। कार्यक्रमको अन्ततिर लाइभ कन्सर्टमा “जोमसमै बजारमा” लगायतका गीतहरु घन्किदा हल भरिकै दर्शकलाई नचाउदै आयोजकहरूले कार्यक्रमको समाप्ति गरेका थिए।

आगामी मे महिनाको १९ तारिख पनि बुद्ध जयन्ती कार्यक्रम सबै संघसंस्थाहरुले संयुक्तरुपमा आइफल टावर अगाडि गर्ने निर्णय गरेका छन्।





Comments

comments

28344