बर्डफ्लूका कारण नेपालमा पहिलो पटक एकको मृत्यु, कसरी जोगिने बर्डफ्लूबाट?

बर्डफ्लुले नेपालमै पहिलोपटक एकजनाको मृत्यु भएको छ । इन्फ्लुएन्जा ‘ए’ एच फाइभ एन वानबाट काभ्रे घर भएका २१ वर्षका युवकको ज्यान गएको हो । ज्वरो र रुघाखोकीले ग्रस्त उनी १० चैतमा अस्पताल भर्ना भएका थिए । ११ चैतमै बिरामीको घाँटीबाट र्‍याल निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । सँगसँगै चिकित्सकले लक्षणका आधारमा उनलाई इन्फ्लुएन्जाविरुद्धको औषधि चलाएका थिए । उपचारकै क्रममा १५ चैतमा उनको ज्यान गयो, तर रोग भने पहिचान भएको थिएन । मृत्यु भएको ३३ दिनपछि मात्रै रिपोर्ट आएपछि बर्डफ्लु पुष्टि भएको हो।

केन्द्रीय प्रयोगशालामा संकलित नमुनामा भाइरस यकिन नभएपछि जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा पठाइएको थियो । १७ वैशाखमा जापानबाट रिपोर्ट आएपछि मात्रै बर्डफ्लु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले बता ।

‘जापानबाट आएको रिपोर्टमा ती युवकमा इन्फ्लुएन्जा ‘ए’ एच५एन१ संक्रमण देखियो,’ डा. लालले भने, ‘नेपालमा बर्डफ्लु लागेर मानिस मरेको यो नै पहिलो हो।’

बर्डफ्लुको भाइरस यकिन गर्न नसकेसँगै केन्द्रीय प्रयोगशालाको क्षमतामाथि पनि प्रश्न उठेको छ । यसअघि सरकारले इबोला, स्क्रब टाइफस, सार्स, स्वाइनफ्लु, बर्डफ्लुजस्ता भाइरस पत्ता लगाउन सक्ने अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला भएको दाबी गर्दै आएको थियो। नयाँपत्रिकामा अर्जुन अधिकारीले यो खबर लेखेका हुन्।

मृतकको पहिचान गोप्य, अन्तर्राष्ट्रिय स्तरबाट अनुसन्धान गर्ने

सरकारले मृतकको नाम र ठेगाना तथा उपचार भएको अस्पतालबारे कुनै जानकारी दिएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मृतक पशुपक्षी पालन तथा सोसम्बन्धी पेसामा आबद्ध थिएनन् । कुखुराको मासु खाँदा संक्रमण भएको अनुमान गरिएको छ ।

स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले अन्तर्राष्ट्रिय स्तरबाट अनुसन्धान गरेपछि मात्रै सबै सार्वजनिक गरिने बताइन् । ‘हामीले यस्तो नतिजाको कल्पनासम्म गरेका थिएनौँ । एक्कािस इन्फ्लुएन्जा ‘ए’ ए५एन१ पोजेटिभ देखिएको छ,’ सचिव चौधरीले भनिन्, ‘अन्तर्राष्ट्रिय जगत्मा जानकारी गराइसकेका छौँ । अन्तर्राष्ट्रिय स्तरबाट थप अनुसन्धान भएपछि सबै रिपोर्ट सार्वजनिक गरिन्छ ।’

यस्ता हुन्छन् लक्षण

पेट दुख्ने,
उच्च ज्वरो आउने,
खोकी लाग्ने,
घाँटी, मांसपेशी र छाती दुख्ने,
पखाला लाग्ने,
श्वास फेर्न गाह्रो हुने र अन्ततः निमोनिया हुने ।

नेपालमा ०६५ मा भित्रिएको थियो बर्डफ्लु
०६५ मा पहिलोपटक झापामा बर्डफ्लु देखिएको थियो । त्यसयता देशका विभिन्न भागमा पटक–पटक कुखुरामा बर्डफ्लु देखिइसकेकोछ । केही समयअघि काठमाडौंमै दुई सय ५० काग मरेका थिए । अहिले मानिसकै मृत्यु भएपछि सरकार नै झस्किएको छ । सरकारले उच्च सतर्कता अपनाउँदै सबैलाई सचेत रहन भनेको छ ।

बर्डफ्लुबाट कसरी जोगिने ? : डा. विवेक लाल,
प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नियमित रूपमा राम्रोसँग साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
घरवरिपरिको वातावरण पनि सफा राख्ने ।
बिरामी तथा मरेका चराचुरुंगीबाट टाढा रहने ।
बिरामी व्यक्ति र चरा नजिकै देखिए वा आफ्नो स्वास्थ्य ठीक नभएको महसुस भए छिटो स्वास्थ्य संस्थामा जाने ।
कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले हातमा ग्लोब तथा नाकमुखमा मास्क वा रुमाल लगाउने ।
कुखुराको मासु राम्ररी पकाएर खाने । सामान्य खाना पाक्ने तापक्रम अर्थात् ७० डिग्री सेल्सियससम्ममा यो भाइरस पूर्ण रूपमा मर्छ । तर, मासुको सबै भागमा यो तापक्रम पुग्नुपर्छ।
अन्डा राम्रोसँग उमालेर खान सकिन्छ । अमलेट बनाएर खाँदा पनि समस्या हुँदैन । तर, हाफ बोइल भने खान जोखिम हुन्छ।





Comments

comments

28797