काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। काठमाडौंको सुकेधारामा हुने भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने तयारी गरिएको छ।
चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका देउवा करिब साढे चार महिना हङकङमा बसेका थिए। सिंगापुरमा उपचारपछि थप स्वास्थ्य उपचार तथा पारिवारिक कारणले उनी हङकङ पुगेका थिए।
हङकङमा रहँदै गर्दा देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका थिए। अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतबाट दुवैविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो। उनीहरू विदेशमा रहेकाले नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको थियो। तर, इन्टरपोलले आवश्यक कागजात तथा विवरण पर्याप्त नभएको भन्दै रेड नोटिस जारी गर्न अस्वीकार गरेको थियो।
यसैबीच, देउवा पक्षले आफू उपचारका क्रममा विदेशमा रहेको र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आएको थियो। पछि सर्वोच्च अदालतले समेत देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।
देउवा अगस्ट ७ मा हङकङबाट बैंकक पुगेका हुन्। हाल उनी बैंककमा रहेको र अगस्ट १३ मा काठमाडौं फर्किने तयारी रहेको बताइएको छ।
नेपाल फर्किएलगत्तै देउवा कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी हुनेछन्। भेलामा पार्टीको वर्तमान अवस्था, संगठनात्मक विषय तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।
लामो समय विदेशमा रहेका देउवा स्वदेश फर्किएलगत्तै कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन लागेकाले भेलालाई पार्टीभित्रको आगामी शक्ति समीकरणका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।


