पर्यटक आगमनमा वृद्धि

फाइल: सन्दर्भ तस्बिर

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो।

यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन्।

संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार दक्षिण एसियाली मुलुकका ५२ हजार ८८६ र बाँकी अन्य देशका पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । असोज–कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो समयमा पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठुलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन्।

अन्नपूर्ण क्षेत्र पदयात्रा रुचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिन्छ।

रासस





Comments

comments

142476