दिल्ली पुगे प्रधानमन्त्री बालेन, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

–

एचकेनेपाल डट कम –
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आइतबार दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे।

मार्च २०२६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहको यो पहिलो भारत भ्रमण हो। विमानस्थलमा उनलाई भारतीय परम्पराअनुसार सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको थियो।

प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीहरू सहभागी छन्। यसका साथै निजी क्षेत्रका ५२ जना व्यवसायीहरू पनि आफ्नै खर्चमा भ्रमण टोलीमा सामेल भएका छन् । नयाँदिल्ली बसाइका क्रममा प्रधानमन्त्री शाह ताजमहल होटलमा बस्ने व्यवस्था मिलाइएको छ।

भ्रमण तालिकाअनुसार आज साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ताजमहल होटलमै पुगेर प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भोलि सोमबार बिहान १० बजे प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान-टु-वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय छलफल हुनेछ।

द्विपक्षीय वार्तापछि मध्याह्न ऊर्जा, कनेक्टिभिटी, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापन लगायतका महत्वपूर्ण क्षेत्रमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुने तय भएको छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।

दिउँसो राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि बेलुका नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।





Comments

comments

142470