न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ नोभेम्बर। हङकङको व्यस्त पर्यटकीय क्षेत्र सिम सा सुईमा आइतबार दिउँसो भएको भयानक सवारी दुर्घटनामा परी एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
दुर्घटनापछि फरार रहेका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ बजेर ३० मिनेटमा सिम सा सुईको प्राट एभिन्युमा तीव्र गतिमा रहेको सेतो रङको बीएमडब्लु कार अनियन्त्रित भई पैदलमार्ग (फुटपाथ) मा चढेको थियो। कारले सडक किनारको बार र पार्किङ गरिएका साइकलहरूलाई ठक्कर दिँदै नजिकैको एक पसलमा गएर ठोक्किएको थियो।
दुर्घटनामा परी फुटपाथमा हिँडिरहेका दुई पुरुष र दुई महिला गरी चार जना पैदलयात्री गम्भीर घाइते भएका थिए। घाइते सबैलाई तत्कालै उपचारका लागि क्विन एलिजाबेथ अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएलगत्तै एक गैर-चिनियाँ पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते अन्य दुई महिला र एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।
प्रत्यक्षदर्शीले खिचेको भिडियो फुटेजमा दुर्घटनालगत्तै क्षतिग्रस्त कारबाट एक पुरुष र एक महिला बाहिर निस्किएर घटनास्थलबाट बिस्तारै हिँड्दै भागेको देखिन्छ।
स्थानीयले उनीहरूलाई रोक्ने प्रयास गरे पनि उनीहरू त्यहाँबाट फरार भएका थिए। पछि प्रहरीले खोजी गर्ने क्रममा घटनास्थल नजिकैबाट शंकास्पद पुरुष चालकलाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचानबारे थप अनुसन्धान गरिरहेको छ।
(स्रोत: हङकङ प्रहरी तथा स्थानीय सञ्चारमाध्यमहरू)

