हङकङमा टुर बस चलाउँदै गर्दा बेहोस भएका चालकको मृत्यु, ४७ बालबालिका सकुशल

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ अगष्ट । हङकङको शिङ मुन सुरुङभित्र बुधबार दिउँसो टुर बस चलाउँदै गरेका ७१ वर्षीय चालक अचानक बेहोस भएपछि बस दुर्घटनामा परेको छ। दुर्घटनापछि चालकलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार करिब ४७ जना बालबालिका सवार बस दिउँसो करिब ३:३० बजे चुन वानतर्फ गइरहेको थियो। सुरुङभित्र पुगेपछि बस अचानक अनियन्त्रित भएर सडकको किनार तथा सुरुङको भित्तामा ठोक्किएको थियो।

चालक बेहोस भएपछि बस सुरुङको भित्तासँग घर्षण हुँदै केही सय मिटर अगाडि बढेर अन्ततः रोकिएको थियो।

घटनास्थलमा उद्धारकर्मी पुग्दा चालक बेहोस अवस्थामा भेटिएका थिए। उनलाई तत्काल यान चाइ अस्पताल लगिएको थियो। तर, साँझ ५:१३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा बसमा रहेकी ५३ वर्षीया एक महिला यात्रुको हातमा सामान्य चोट लागेको छ। बसमा सवार सबै ४७ बालबालिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार चालकले बस चलाइरहेका बेला अचानक चेतना गुमाएको हुनसक्ने देखिए पनि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।





Comments

comments

140267