उपेन्द्र यादवसँगको अन्तर्वार्तालाई लिएर एभिन्युजलाई स्पष्टीकरण मागियो

काठमाडौं: प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेको छ।

उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो। राजधानीमा खबर छापिएको छ।

एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए।

समाजवादी पार्टी नेपालले सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। सो पार्टीले एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो।

अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ।

सो पार्टीले पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपिल समेत गरेको छ।

त्यस्तै, वीरगन्जको श्रीपुरमा रहेको एभिन्यूज टेलिभजिनको ब्युरो कार्यालयमा सोमबार एक समुहले तोडफोड गरेको छ। दिउँसो १ बजेतिर मोटरसाइकलमा आएका ५-६ जना युवाले एभिन्यूज टिभीको वीरगन्ज श्रीपुर स्थित स्टुडियो समेत रहेको ब्युरो कार्यालयमा तोडफोड गरेका हुन्।

काठमाडौंमा रहेको एभिन्यूज टेलिभजिनबाट आइतबार साँझ प्रसारित समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर वीरगन्जस्थित ब्युरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठको दाबी छ। एभिन्युज टिभीको कार्यक्रम ‘सकस राजनीति’ मा प्रश्नकर्ता पत्रकारले ‘जवाफ नदिने भए कार्यक्रम छोडेर जानू’ भनेपछि यादवले बीचमै कार्यक्रम छोडेर हिँडेका थिए। अन्नपूर्णपोष्ट दैनिकमा खबर छापिएको छ।





Comments

comments

Trending Now : भारतीय बाँधले नेपाली बस्ती डुबानमा