श्रीमतीको नाममा ५९० रोपनी सरकारी जग्गा

व्यक्तिको नाममा पास गरिएको सरकारी जग्गा । तस्बिर : नयाँ पत्रिका

गुठीचौर गाउँपालिका–४ बाउलीगाउँका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पाँच सय ९० रोपनी सरकारी जग्गा श्रीमतीसहित आफन्तको नाममा पास गरेका छन्।

अवकाशप्राप्त कर्मचारी न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको तीन लाख वर्गमिटर अर्थात् पाँच सय ९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वतीसहित १३ जना आफन्तको नाममा दर्ता गराएका हुन्।

राष्ट्रिय भेडाबाख्रा अनुसन्धान फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साबिक गुठीचौर गाविस–६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५ सय २५ वर्गमिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्गमिटर (५९० रोपनी) जग्गा तत्कालीन मालपोत अधिकृत न्यौपानेले निजी बनाएका हुन्।

सबैभन्दा धेरै श्रीमती र छोरीको नाममा दर्ता
रुद्रप्रसाद पण्डित जुम्लाको प्रमुख जिल्ला अधिकारी बनेर आएपछि न्यौपानेले हडपेको सरकारी जग्गा पत्ता लगाएका थिए । गुठीचौरको सरकारी जग्गा व्यक्तिको बनाएको सूचना पाएपछि उनले अनुसन्धान थालेका थिए । प्रतिवेदनअनुसार, न्यौपानेले ३५ हजार एक सय ५० वर्गमिटर जग्गा श्रीमती गोमा र ३४ हजार आठ सय ५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएका छन्।

१२ आफन्तमध्ये एकजनाको नाममा ३३ हजार वर्गमिटर, अर्का एकजनालाई ३२ हजार तीन सय ३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका छन् । त्यस्तै, एकजनालाई १३ हजार तीन सय ३५ वर्गमिटर, एकजनालाई १३ हजार तीन सय ३० वर्गमिटर र एकजनालाई दुई हजार वर्गमिटर दर्ता गराइदिएका छन्।

गुठीचौरको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी पण्डितले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए । समितिमा सहायक वन अधिकृत श्यामलाल महत (हाल स्वर्गीय), नापी अधिकृत दामोदर वाग्ले, जिल्ला प्रहरी कार्यालयका एक अधिकृत र जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका नायब सुब्बा गरी पाँचजना थिए। नयाँपत्रिकामा मानदत्त रावलले यो खबर लेखेका छन्।





Comments

comments

29266