न्यूयोर्कका नेपाली पत्रकार पन्थीको पुस्तक ‘कम्पन’ विमोचित

विजय थापा –

अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ।

सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन्। शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो विश्व किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए।

सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो। जसमा गुगलका कार्यकारी अधिकारी डानियल पलसमेत थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो। हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्धार गरिएको थियो।

पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभवसमेत समेटिएको छ। महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्धारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ।

कामीरिता शेर्पाले यसपटक एउटै मौसममा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्डसमेत कायम गरेका छन्। सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको बिमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए।

अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन (दूर दर्शन) विज्ञापन निर्माण गरेर अभिलेख कायम गरेका थिए। उनले सन् २०११ मा सगरमाथामा दुई महिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए।





Comments

comments

29415