संगीता स्वेच्क्षाको ‘गुलाफसँगको प्रेम’ पढेपछि… – सुरेशजंग शाह

सुरेशजंग शाह –
समीक्षा

“म पनि उनलाई सम्बोधन गर्न चाहन्थेँ तर नामै थाहा नपाएको हुँदा ओठहरूमा कम्पन बढ्दो थियो। उनी मसंग मन्द मुस्कुराइन् … स्वर्गको आनन्द थियो त्यो मुस्कानमा!

वरिपरिको सम्पूर्ण वातावरणमा चहलपहल देखियो। गुलाफले हाँस्दै बोलाइन् … विराज!

‘पुराना सम्झनाहरू आँखाअगाडि सलवलाइरहे रूविना उही चञ्चल, हसिली रूविना जोसंग म धरान जाँदा भेट भएको थियो। म काठमाडौँ आउदा उनले कैयौँ आँसु बगाइन् तर मैले एउटा चिठीसम्म पनि लेखिंन।’

यी उदृत पंक्तिहरूमा रूविनाका आँसुले छेक्न नसकेका विराजका पाइलाहरू र फर्काउन नसकेको विराजको मन एकाएक झाडीमा फुलेको गुलाफको फूलतिर लम्कन्छन् र क्रमश: आकर्षित हुन्छ। मनभित्र मायाको अनुभूति स्पर्शित हुँदा आफूले ठुकुराएकी उनै मायालु रुबिनालाई पाउन जाँदा अर्कैको डोलीमा अन्मिएको पाएपछि विक्षिप्त विराजको मन निन्द्रामा वा तन्द्रामा गुलाफभित्र नै आफूलाई माया गर्ने मायालु रूबिनालाई पाउँछ र विराज गुलाफसंगै बोलिरहेको हुन्छ।

कथाकार संगीता स्वेच्क्षाले बढो सशक्तरूपले प्रेमको अनुभूति बिम्बमा अभिव्यक्त गर्न सफल रहेकी छिन्। यहाँ रूबिनाको उपस्थिति गुलाफभित्र हुन्छ र विकासको मनलाई प्रभावित बनाउँछ । गुलाफ बोल्छ त्यही भाषामा जुन रूबिनाले बोल्थिन् । गुलाफ मुस्कुराउंछ त्यही शैलीमा जसरी रूबिना मुस्कुराउँथिन् । मायाको स्पन्दनभित्र स्पर्शित विराजको मनोभाव गुलाफसँग मुर्त वार्तामा उतार्न सफल आख्यानकार डा.संगीता श्रेष्ठ ‘स्वेच्क्षा’ ले यहाँ मायाको स्पर्श बस्तु र ब्यक्तिबीच उभ्याउन खोजेकी छिन् आफ्नो आवरण कथा ‘गुलाफसँगको प्रेम’ मा र अमुर्त अभिव्यक्तिलाई मुर्तरूपमा उतार्ने यो शैली साँच्चिनै प्रशंसनीय छ । चाहे त्यो झाडीमा फुलेको गुलाफ होस वा बगैँचामा हुर्काइएको फूल होस् अस्तित्वको सम्मान हुनु पर्ने, मायाको पहिचान हुनु पर्ने जिकिर कथामा लेखिका स्वेच्क्षाको रहेको छ।

पुराना सम्झनाहरू आँखाअगाडि सलवलाइरहे रूविना उही चञ्चल, हसिली रूविना जोसंग म धरान जाँदा भेट भएको थियो। म काठमाडौँ आउदा उनले कैयौँ आँसु बगाइन् तर मैले एउटा चिठीसम्म पनि लेखिंन।

जीवन फूल र काँडाहरूबीचको सङ्गम हो जुन सरल र कठिन जङ्गारहरूमा अविरल यात्रा गर्दै अगाडि बढिरहन्छ। यस्तै सार बोकेका आफ्ना बीसवटा कथाहरू सँगालेर ‘गुलाफसँगको प्रेम’ कथा संग्रह पाठक समक्ष पस्केकी छिन् कथाकार डा.संगीता श्रेष्ठ ‘स्वेच्क्षा’ ले। नेपाल, बेलायत र अस्ट्रेलिया यी तीन देशको सेरोफेरोभित्र आफ्ना कथाहरूको उब्जनी थलो बनाएकी स्वेच्क्षाले देशदेखि विदेशसम्म सायद आफूले देखेसुनेका अनुभूतिहरू कथ्न आफ्नो साहित्यिक प्रतिभा अत्यन्त सरल र सुवोधरूपले उपयोग गरेर समाजको आँखा उघार्ने प्रयत्न गरेकी छिन्। स्वेच्क्षाको लेखन शैली कतै आत्मपरक छन् , कतै पात्रपरक छन् । कथा लेखनमा मीठास छ, विषयवस्तुमा गहनता छ । कथा संग्रह भित्रका बीसवटा कथाहरूमा पहिलो कथा गुलाफसँगको प्रेम हो र यसैबट पुस्तकको नाम राखिएको छ। अन्तिम कथा ‘विक्षिप्त मनको डायरी’ हो । जुन दैनिकी डायरी लेखनको शैलीमा नै बढो मार्मिकरूपले कथिएको छ। कथाका बुनाइमा भिन्न आकार दिन सफल कथाकार स्वेच्क्षा आफ्ना कथाहरूमा नारी अधिकारका पक्षमा वकालत गर्दा पुरूष अधिकारका कुरा पनि उठाउनप छि परेकी छैनन्। आजका मान्छेका स्वार्थी चाहाना र सुखको खोजीलाई उजागर गर्दै जीवनयापनका कुराहरू हुन् वा प्रेम-मायाजालका कुराहरू हुन्। विविध संस्कृति रप रिवेशको प्रभाव होस् वा अफवाहको शिकार वा बजारू ब्यापारमा धोका, द्वेष आदि आफ्नो कलममा समेटेर कथाकार स्वेच्क्षाले समाजलालाई समाज भित्रकै ऐना देखाउने काम गरेकी छिन्। समग्रमा भन्नु पर्दा गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह एउटा सामाजिक कथा सङ्ग्रह हो र कथाकार स्वेच्क्षा आफ्ना कथाहरूमा त्यही उभिएकी छिन् जहाँ समाज उभिएको छ।

लण्डनमा नेपाली साहित्य विकास परिषद यूकेले ५ मे २०१९ का दिन नेपाली नयाँ वर्ष २०७६ को शुभागमनमा आयोजित ३०औँ साहित्य संध्यामा लोकार्पण गरिएको ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रहभित्र समिक्षात्मक मन्तव्य राख्नु हुँदै साहित्यकार निर्मल कुमार थापा लेख्नु हुन्छ, गुलाफसँगको प्रेम एउटा अपत्यारिलो कथा हो। नेपालीपनको अन्तर्निहित तत्वका जीजिविषालाई आफूभित्र राखी जलसिञ्चित गरी भावनात्मक भ्रमणमा भरिएर नेपाल र नेपालीको अपनत्वलाई ऋङ्गार गरी आफ्ना रचनाहरूमा प्रवाहित गर्नु घरदेखि टाढा भएकाहरूका लागि अपत्यारिलो घटना हो । यो घटना कुशल शिल्पकारद्वारा सम्भव छ । अव्यक्त भावनाका बारेमा, अल्झिएको दिनचर्या, नागरिक हुनुको रहस्यदेखि लरेनका ड्याडीहरूका बारेमा लेखिनु फिक्सन नभइकन फ्यक्ट हो।

यस्तै अर्का साहित्यकार कृष्ण बजगाँई लेख्नुहुन्छ, कथाकार स्वेच्क्षाका कथाहरू पढ्दै जाँदा हामीले बाँचिरहेको समाजको तस्बिरका पानाहरू पल्टँदै जान्छन् । पुरूषको संकीर्ण मनोवृति, नारीवादी चिन्तन र स्वार्थीपना जस्ता विषयका कथाले हाम्रो समाजको चिरफार गरेका छन् । यस गुलाफसँगको प्रेम सङग्रहका कथामा प्रेमील जीवनका नारी र पुरूष विभिन्न रङ्गमा आ-आफ्नै संसारमा फुलेका देख्न पाइन्छन्।

स्वयं लेखिका डा.संगीता श्रेष्ठ ‘स्वेच्क्षा’ आफ् नोप्रस्तुत पुस्तक ‘गुलाफसँगको प्रेम’ माथि मन्तव्य राख्दै लेख्छिन्। जीवन पनि गुलाफ र त्यसमा हुने काँडाको संगम नै त हो। त्यसैले त जीवनका क्षणहरू अनि भोगाइहरू कहिले गुलाफ जस्तै कोमल हुन्छन् त कहिले काँडा झैँ बनिदिन्छन्। समाजमा हुने घटनाहरू अनि ती घटनामा उत्रिरहेका चरित्रहरूको जीवनमा आएका उतावचढावलाई यस कथा सङ्ग्रहमार्फत प्रस्तुत गर्ने कोसिस गरेकी छु।

कलर नेपालद्वारा प्रकाशित १६४ पेजको गुलाफसँगको प्रेम कथा सङ्ग्रह देशभित्र र देशबाहिर उभिएको वर्तमान जीवनशैलीको एउटा खरो दस्तावेज हो। जुन पढेर पाठकहरूमा जीवनका धेरै पहलुहरूको पत्ता खुल्दैजाने छन्। एकचोटी पुस्तक किनेर पढ्नु हुन साहित्य प्रेमीपाठकहरूमा म यहीँनिर आग्रह गर्दछु र विट मार्नु अघि कुशल लेखिका नेपाली साहित्य विकास परिषद यूकेकी सहमहासचिव कथाकार डा.संगीता श्रेष्ठ ‘स्वेच्क्षा’ मा मुक्त कण्ठले प्रशंसाको माला पहिराउँन चाहन्छु।





Comments

comments

Trending Now : पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब
29444