हात खुट्टाको जोर्नी दुख्छ भने…

बिहान उठ्दा तपाईको घुँडा दुख्छ ? हिँड्न गाह्रो हुन्छ?

दुखाइको महसुस हुने गर्छ भने सजग हुनुहोस्। बाथरोगको लक्षण हुन सक्छ। वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्य भन्छन्, ‘बाथरोग लागेका व्यक्तिको जोर्नी बिहानपख दुख्ने गर्छ। कक्रक्क पार्छ। सुन्निन्छ।’ उनले जोर्नी कक्रक्क पार्दै जाँदा पछि बांगिने जोखिम पनि हुने बताए। उनका अनुसार बिहान औंला सुन्निने र घाम लागेपछि विस्तारै बस्दै जान्छ।

कुनै पनि मुलुकको कुल जनसंख्याको १० प्रतिशतलाई बाथरोग हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ। अहिले मुलुकमा ३० लाख बाथरोगका बिरामी भएको चिकित्सक बताउँछन्। जसमध्ये एक लाखभन्दा कम बिरामीले उपचार पाएको डा. वैद्य बताउँछन्। बाथरोग विशेषज्ञ राजधानीमै सीमित रहेका कारण दूरदराजका धेरैजसो बिरामी झारफुकको भरमा बस्दा रोगले जटिल रुप लिने गरेको छ।

केही वर्ष अघिसम्म बाथरोगको जाँच एवं उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो। अहिले बाथरोगको करिब ८० प्रतिशत परीक्षण नेपालमै सम्भव भएको डा. वैद्य बताउँछन्। सुरुवाती चरणमा बाथरोगको पहिचान गर्न विशेषज्ञ चिकित्सक नै नचाहिने उनको भनाइ छ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ताका अनुसार बाथरोग दुई सयभन्दा बढी किसिमका हुन्छन्। कुनै पनि व्यक्तिको हाड, जोर्नी, मांसपेशी, नसा दुखेर उत्पत्ति हुने लक्षण बाथरोग हो। शिशुदेखि वृद्धवृद्धसम्म जुनसुकै उमेरका व्यक्तिलाई पनि बाथरोग हुने गर्छ। ‘दुखाइबाट यो रोग सुरु हुन्छ। शरीरको कुनै पनि भागमा जोर्नी दुख्न सक्छ’, डा. गुप्ताले भने, ‘गर्धन, पाखुरा, कुहिनो,मेरुदण्ड, हातका आँख्ला, घुँडा, खुट्टाको औंलालगायत जोर्नीमा दुख्ने तथा सुन्निने डा. गुप्ता बताउँछन्।

महिलामा १५ देखि ४५ वर्ष उमेर समूहमा बाथरोगको लक्षण देखिने गर्छ। सुतेर उठ्दा जोर्नी दुख्छ। बिहान केही मिनेटदेखि आधाघण्टासम्म दुखाइ महसुस हुने डा. गुप्ताले बताए। बाथरोग धेरै हुने भएकाले रोगको किसिमअनुसार लक्षण फरक देखिने उनको भनाइ छ। ‘यो रोग कुनै जीवाणु वा कीटाणुबाट सर्ने होइन, शरीरको आन्तरिक भागमा स्वतः उत्पन्न हुने अटो इम्युन डिजिज हो’, डा. गुप्ताले भने। प्रायः प्रौढ उमेरमा बाथरोगले थला पार्ने गर्छ। पुरुषभन्दा महिलामा यो रोग बढी देखिने गर्छ। महिलामा गठिया बाथ, लुपस बढी देखिएको छ। बाथरोग वंशाणुगत कारण पनि हुने गर्छ।

लक्षण

– हातखुट्टाका जोर्नी सुन्निने
– बिहानपख जोर्नी अरठ्ठ हुने
– घुँडा दुख्ने
– थकान महसुस हुने
– भोक नलाग्ने
– अल्छी लाग्ने
– शरीर गल्ने

जोगिने उपाय

– वजन घटाउने
– घुँडा मोडेर नबस्ने (पलेंटी कसेर धेरैबेर नबस्ने)
– जोर्नीमा दबाब पर्ने गरी नबस्ने
– जंक फुड नखाने
– सन्तुलित आहार गर्ने
– योग तथा व्यायाम गर्ने
– आसन परिवर्तन गरेर बस्ने
– विज्ञसँग परामर्श लिने
यो सामग्री अन्नपूर्णपोष्टमा दिनेश गौतमले लेखेका छन्।





Comments

comments

29794