ब्रिटिश गोर्खा नागरिकता निरन्तरताको सुझाव प्रधानमन्त्रीलाई पेश

ब्रिटिश गोर्खाको नागरिकता निरन्तरतासम्बन्धी संविधान संशोधन सुझाव: बहस-पत्रमा समावेश
सन्तोष थलङ –
ब्रिटिश गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि BGNCCC – UK/Nepal ले संविधान संशोधन बहस-पत्र कार्यदलमा बुझाएको संशोधन सुझाव, कार्यदलले सम्माननीय प्रधानमन्त्रीसमक्ष पेश गरेको खबरले सम्पूर्ण गोर्खा समुदायमा नयाँ आशा र उत्साह सञ्चार गरेको छ।

BGNCCC – UK/Nepal ले यसलाई नागरिकता निरन्तरताको न्यायपूर्ण अभियानमा एक सकारात्मक र महत्त्वपूर्ण पहिलो कदमका रूपमा स्वागत गरेको छ।

यस ऐतिहासिक उपलब्धि हासिल गर्न अहोरात्र खट्नुहुने BGNCCC – UK/Nepal का महासचिव, अभियान निर्देशक, नेपाल च्याप्टरका संयोजक, कोषाध्यक्ष, कानुनी सल्लाहकार तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्ण व्यक्तित्वहरूका साथै संविधान संशोधन बहस-पत्र कार्यदलप्रति BGNCCC – UK/Nepal हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।

अबको योजना: अझ सशक्त अभियान
पहिलो चरणको सफलता मिले तापनि हाम्रो मूल गन्तव्य अझै बाँकी छ। नागरिकता निरन्तरताको यो मुद्दालाई व्यवस्थापिका संसद् (प्रतिनिधि सभा / राष्ट्रिय सभा) सम्म पुर्‍याई सर्वसम्मत रूपमा संविधान संशोधन प्रस्ताव पारित गराउनु अबको मुख्य चुनौती र जिम्मेवारी हो।

यसका लागि हाम्रा मुख्य रणनीतिहरू:

  • लक्ष्य प्राप्तिका लागि परिचालन: थप प्रभावकारी रणनीति र सम्भाव्य सम्पूर्ण स्रोत-साधनहरूको अधिकतम परिचालन गरिनेछ।
  • राजनीतिक सहमति: संसद्मा रहेका सम्पूर्ण राजनीतिक दलहरूसँग सघन संवाद गरी संशोधनको पक्षमा सर्वसम्मत वातावरण बनाउन पहल गरिनेछ।

सम्पूर्ण गोर्खा समुदायमा हार्दिक आह्वान
हाम्रा पूर्वजहरूले आफ्नो रगत र पसिनाले रचेको स्वाभिमानका साथै हामी र हाम्रा भावी सन्ततिहरूको नेपाली राष्ट्रियता एवं पहिचान सुरक्षित गर्ने यो एउटा ऐतिहासिक अवसर हो।

तसर्थ, BGNCCC – UK/Nepal सम्पूर्ण गोर्खा समुदाय, गोर्खा सन्ततिहरू तथा विभिन्न गोर्खा जन्य संघ-संस्थाहरूलाई आफ्ना सानातिना व्यक्तिगत वा संस्थागत मतभेद र स्वार्थहरूलाई त्यागेर एउटै साझा मञ्चमा गोलबद्ध हुन हार्दिक आह्वान गर्दछ।

आउनुहोस् ! BGNCCC सँग आबद्ध भई आफ्नो तन, मन, धन र वचनले यस पवित्र अभियानमा पूर्ण योगदान पुर्‍याऔँ र हाम्रा सन्ततिहरूको नेपाली पहिचान सधैँका लागि सुरक्षित गरौँ!





Comments

comments

139914