मन्त्रिपरिषद हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

फाइल फोटो

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ।

शुक्रबार प्रधानमन्त्री ओली, दाहाल र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ।

यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो। मन्त्रिपरिषद् फेरबदलमा देखिएका विभिन्न समूहको स्वार्थका कारण ढिलाइ भइरहेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।





Comments

comments

32677