मिटरब्याजी यादवको भव्य महलमा प्रहरीको छापा

फाइल फोटो

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ।

सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले दिउँसो खानतलासी गरेको हो । त्यसक्रममा यादवले विभिन्न व्यक्तिलाई ऋण प्रवाह गर्दा गरेको कागज र विभिन्न बैङ्कका चेक बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

खानतलासी लिँदा बरामद भएको कागजातले घटनाको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ । यादवको घरमा खानतलासी गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमाशङ्कर गुप्ता र ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र यादवको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले यादवको घरमा झण्डै दुई घण्टा लगाएर खानतलासी गरेको हो।

पीडितले काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर मिटर ब्याजी यादवले ठगी गरेको भन्दै उजुरी गरेपछि उनलाई प्रहरीले यही पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । भेष परिवर्तन गरी भाग्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले मिटरब्याजी यादवविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए। यो समाचार गोरखापत्र दैनिकमा छ।

कमेन्ट





Comments

comments

33466