हङकङ सरकारले कामदारको ६ महिनासम्म तलब ब्योहोरी दिने

फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ९ अप्रिल। हङकङ सरकारले कोरोनाभाइरस महामारीको समयमा कामदारको ६ महिनासम्म तलब ब्योहोरी दिने भएको छ।

कोरोनाभाइरस महामारीका कारण व्यवसाय सञ्चालन गर्न र कामदारलाई तलब दिन नसक्ने अवस्था देखिएपछि सरकारले आर्थिक सहायता उपलव्ध गराउन लागेको हो।

सरकारले बुधवार महामारीविरुद्ध दोस्रो चरणको १३७ बिलियन डलरको राहत कोषको घोषणा गरेको छ।

यस कोषअन्तर्गत सरकारले छ महिनासम्मको लागि प्रतिमहिना तलवको ५० प्रतिशत कामदार/ कर्मचारीको तलब व्योहोरि दिने भएको छ। सरकारले ९ हजार डलरसम्म कामदारको तलब व्योहोरि दिने भएको छ। यहाँ सरदर १८ हजार तलब कायम गरिएको छ।

त्यस्तै स्व-रोजगार भएका व्यक्तिको लागि एकमुष्ट रकम उपलव्ध गराइने छ।

यसका लागि रोजगार सहायता योजनाले जुन महिनाको शुरुदेखि आवेदनहरू लिएर र जुनको अन्त्यमा दुई किस्ता गरी वितरण गरिने भएको छ।

एमटिआर कर्पोरेसन (रेल कम्पनी)ले जुलाईदेखि ६ महिनासम्मको लागि २० प्रतिशत भाडा घटाउंने भएको छ। अक्टोपस कार्ड प्रयोगकर्ताहरूले एयरपोर्ट एक्सप्रेसबाहेक सबै एमटिआर यात्राको लागि छुट पाउंनेछन्।

त्यस्तै, हवाई उडानहरु ठप्प भएर घाटाको सामना गरिरहेका चार हङकङ एयरलाइन्सको ५ लाख हवाई टिकट सरकारले खरिद गरेर आर्थिक सहायता गर्ने भएको छ।

यसैबीच, सरकारले वेराेजगार घटाउंन १२ महिनाकाे लागि छोटो अवधिको ३० हजार रोजगारी सिर्जना गर्ने भएकाे छ। त्यस्तै १० हजार निजामती कर्मचारीहरू भर्ती गरिने जनाएकाे छ।

कठिन अवस्थाकाे सामना गरिरहेका १६ प्रकारका व्यवसायिक फर्महरूले २१ बिलियन डलरबाट एकमुष्ठ आर्थिक सहायता प्राप्त गर्नेछन्।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामको अफिसले १ वर्षसम्म १० प्रतिशत तलब घटाएर लिने जनाएको छ।

यसअघि, सरकारले विद्यालय पढ्ने विद्यार्थीलाई आर्थिक सहायता ३५ सय डलर वितरण गरेको थियो। जुन कतिले प्राप्त गरिसकेका छन् भने कतिले प्राप्त गर्ने प्रक्रियामा छन्। त्यस्तै सरकारले १८ वर्षमाथिका प्रत्येक स्थायी बासिन्दालाई दिने भनिएको १० हजार डलर (१२०० यूयस डलर) वितरणको प्रक्रियामा रहेको छ।





Comments

comments

35338