महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव १ लाख आठ हजार ६१ क्युसेक पुगेको छ । महाकाली नदीमा मङ्गलबार बेलुकीदेखि पानीको जलस्तर बढेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ।

यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा बेलुकी ५ः०० बजेपछि चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए।

“राति ९ः०० बजे गरिएको मापनअनुसार बहाव एक लाख आठ हजार क्युसेक नाघेको छ,” गुरुङले भने, “पानीको बहाव बढ्दै गएकाले पुलमा भारतीय पक्षबाट चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।”

ठुला सवारीसाधन आवागमनमा रोक लगाउँदा यहाँबाट भारतका विभिन्न क्षेत्र जाने र आउने क्रम प्रभावित बनेको छ । यद्यपि साना सवारीसाधनलाई भने सञ्चालन गरिएको उनको भनाइ छ।

“पुल जीर्ण भएका कारण भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघ्दा पुलमा ठुला सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ,” उनले भने, “पानीको बहाव घटेपछि आवागमन पनि सहज हुँदै जान्छ।”

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला, बैतडीका साथै भारतको धार्चुला क्षेत्रमा वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ। रासस





Comments

comments

140255