नेकपामा चरम कलह

सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन्। मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे। प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन।’

फाइल फोटो

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए। उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे।

बैठक सुरु गर्दै अध्यक्ष दाहालले सुरुमा आफूलाई भूमिकाविहीन बनाइएको गुनासोे गरे । उनले भने, ‘पार्टीका कामहरू अगाडि बढ्न नदिने, सरकारका कामहरू पनि स्वेच्छाचारितामा प्रधानमन्त्रीले गर्ने अवस्था मात्रै रह्यो। मलाई प्रधानमन्त्रीले भूमिकाविहीन बनाउन खोज्नुभयो।’

अघिल्लो पालि पनि प्रधानमन्त्रीलाई भारतले नभई आफूहरूसँगको सहमति तोडेकाले हट्नु परेको दाहालको भनाइ थियो । नक्सा सार्वजनिक गर्ने काम कुनै व्यक्तिको मात्र निर्णय र आँट नभएर पार्टी बैठकको निर्देशनका आधारमा भएको दाहालको भनाइ थियो ।

दाहाल कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीले कडै रूपमा जवाफ दिए।

‘घटनाहरू भएकै छन् । भारतले हस्तक्षेप ग¥यो भन्दा टाउको दुखाउनुपर्ने किन ? होटलहरूमा चलखेलहरू भइरहेका छन् । त्यो मलाई थाहा छ । सबै कुरा किन बताइरहनु प¥यो’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू र भारतीय मिडियाका शैली मिलेको छ । यहाँ तपाईंहरू गुटबन्दी गर्नुहुन्छ । उताका मिडिया प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मोर्चाबन्दी भनेर समाचार दिन्छन् । मैले भनिरहनु पर्दैन ।’ उनले आफूले जे जति गरेको छु, त्यो राष्ट्रकै हितका लागि गरेको बताएका थिए । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37415