हरेक दिन रोजगारीको शिलशिलामा १५ सय युवा बिदेश जान्छन। ३ करोड जनसंख्या भएको नेपालका ४० लाख नेपाली बिदेश छन्। जसमा २५ लाख नेपाली खाडी मुलुकमा छन। आईसीसी विश्व कप क्रिकेट खेल चलिरहदा अष्ट्रेलिया निवासी दीपा राईले भारत र बङ्गलादेश बीचको खेलमा ”युनाईटेड अगेनस्ट स्लेभरी अफ माईग्रेन्ट वर्कर” लेखेको ब्यानर शो गरेपछि एकाएक चर्चामा अाईन्। सन १९९८ मा स्टुडेन्ट भिसामा अस्ट्रेलिया पुगेकी राई एनआरएन आइसिसी सदस्य तथा एनआरएन आप्रवासी श्रमिक संघकी उपाध्यक्षसमेत हुन्। अष्ट्रेलियामा बस्ने नेपाली चेलीलाई कसरी खाडी दुख्यो त यही बिषयमा केन्द्रित रहेर एचकेनेपाल डट कमका सहयोगी / सहकर्मी निश्चल काउचाले राईसँग गरेको कुराकानी।

दीपा राई

तपाईं अष्ट्रेलियामा बस्ने मान्छेलाई खाडीका आप्रवासी श्रमिकका लागि काम गर्ने उत्प्रेरणा कसरी जाग्यो?
हामी अष्ट्रेलिया, अमेरिका वा युरोपमा जहाँ बसे पनि हामी मध्य पूर्वमा मरिरहेका हाम्रा आप्रवासी श्रमिकका बारेमा सबै थाहा छ। यो समस्यालाई हाम्रो सरकार र अन्तराष्ट्रिय समुदायद्वारा सम्बोधन गर्नु पर्ने हो। मैले धेरै पढेको र देखेकी छु आप्रवासी श्रमिक र श्रमिक परिवारको कथा व्यथाहरु कतारी कम्पनीहरुबाट हाम्रा आप्रवासी श्रमिकहरु शोषण भइरहेको कुराले मलाई व्यक्तिगत रूपमा छुने गरेका छन्। हामी विश्व भरिका युवाहरु मिलेर कर्मा तेन्जिङ न्याङ्मीको संयोजकत्वमा ”युनाईटेड अगेनस्ट स्लेभरी अफ माईग्रेन्ट वर्कर” भनिने समूह छ। जसमा ४५०० सय सदस्य छन्। संसारभरीका नेपाली युवाहरुको समूह मिलेर आप्रबासी श्रमिकको दासत्वबिरुद्ध २०१३ मा न्यूयोर्क, सान फ्रान्सिस्को, लन्डन, सिडनी र मेलवर्नमा र्याली आयोजना गरी सकेको छ। यस समस्याको सामना गर्न एनआरएन अध्यक्ष शेष घलेले पनि वचनबद्धता जनाउनु भएको छ। म आफै पनि एनआरएन आइसिसी सदस्य तथा एनआरएन आप्रवासी श्रमिक संघकी उपाध्यक्ष रहेको नाताले एउटा नेपाली दुख्दा अर्को नेपालीको मुटु दुख्नु स्वभाविक हो।

तपाईंले ब्यानर शो गर्न विश्वकप क्रिकेट भइरहेको स्टेडियम मेलवर्न क्रिकेट ग्राउन्ड नै रोज्नुको कारण?
आईसीसी विश्व कप क्रिकेटको क्वाटर फाइनल खेल भारत र बङ्गलादेश बीचमा थियो। मैले ब्यानर देखाउनु कारण खाडीमा दक्षिण एसियाली आप्रवासी श्रमिकको संख्या धेरै छ। मलाई आशा थियो त्यो खेलमा ब्यानरमा देखाउंदा यस विषयमा अन्तर्राष्ट्रीय मिडिया र लाईभ टेलिकास्ट गरेका टिभीले फोकस गर्ने छन्। दक्षिण एसियाली देशहरू मिलेर कतारी सरकारसंग कूटनीतिक आधारमा पहल गरेर यो समस्या समाधान गर्न मिलेर काम गर्न सक्छन् भन्ने सन्देश दिन र महसुस गराउन सकिन्छ कि भनेर मैले सो खेलमा ब्यानर शो गरेकी हुँ।


Facebook

खाडीदेखि मलेसियासम्म नेपाली आप्रवासी श्रमिकको स्थिति त नाजुक छ तर तपाईंहरुले खाडीलाई फोकस गर्नुको कारण?
कतारले २०२२ मा फिफा विश्व कप आयोजना गर्न गैरहेको छ। जहाँ आप्रबासी श्रमिकहरुले दासत्वको रुपमा स्टेडियम निर्माण गरिरहेका छन्। तलव न्यून छ। बासस्थान राम्रो छैन तसर्थ हामीले अन्तर्राष्ट्रिय समुदायबीच यो बिषयमा जानकारी गराउंदै आप्रवासी कामदारको समस्या कतार सरकार समक्ष उठाउन चाहन्छौं ताकी कतार सरकारले आफ्नो सिस्टम बदलेर आप्रबासी श्रमिकको हितको निम्ति काम गरोस्।

कुनै पनि नेपाली श्रमिक बिदेशी भूमिमा जेल चलान हुंदा या ठगीमा पर्दा रेस्पोन्स लिने जिम्मेवारी त नेपाल सरकारको होईन र?
हामी लज्जित हुनु पर्ने अवस्था छ। आप्रवासी श्रमिकले पठाएको रेमिटयान्सले नै देशको अर्थतन्त्र धानेको छ भनेर गर्व गर्ने सरकार नै रेमिटयान्स पठाउने आफ्नै कामदारको सुरक्षा दिन असफल छ। यस बिषयमा नेताहरुलाई नलज्जाबोध न आत्मग्लानी नै।

२०२२ मा कतारले फिफा विश्वकप आयोजना गर्दैछ। यसैको अवसरमा खाडीका आप्रवासी श्रमिकका मुद्धा उठाउदा अन्तर्राष्ट्रिय मिडियाको साथ पाईन्छ भनेर यो अभियान चलाईएको हो?
हजुर हो। कतारमा स्टेडियम निर्माणको क्रममा हालसम्म अनुमानित ४००० हजार मजदुरको मृत्यु भईसकेको छ र अन्तर्राष्ट्रिय समुदायले यो समस्याको बारेमा शान्त बस्न सक्दैनन् हामी जस्ता जिम्मेवार नागरिकले विश्वव्यापी रुपमा आवाज उठाउन जरुरी छ।

खाडीका आप्रवासी श्रमिकका हक हितका लागि बोल्दा अस्ट्रेलियाली प्रहरीको फन्दामा पनि पर्नु भयो। त्यति बेला तपाईंलाई कस्तो अनुभव भयो?
मलाई थाहा थियो मैले कुनै गल्ती कार्य गर्न गैइरहेको छैन। जव हामी राम्रो काम गर्दैछौ भने डराउनु पर्ने आवश्यकता नै हुँदैन। मैले ब्यानर राख्दा सुरक्षाकर्मीलाई नै सोधेर राखेकी हुँ र पछि मलाई सोधपुछ लागि केही समय नियन्त्रण लिएपछि मैले हाम्रो मुद्धाको बारेमा बताएपछि छोडी दियो। मलाई त्यस कुनै पछुतो या आत्मग्लानी केही छैन।

तपाई एनआरएन आप्रवासी श्रमिक संघकी उपाध्यक्ष पनि हुनुहुन्छ। खाडी मात्र होईन अरु कुनै पनि देशमा पुगेर श्रम शोषणमा परेका या ठगिएका नेपाली आप्रवासी कामदारलाई तपाईंको संस्थाले के-कस्तो सहयोग गर्न सक्छ?
आईसीसी अध्यक्षज्यूले आप्रवासी श्रमिक हितको लागि १ करोडको राहत कोष खडा गरिसक्नु भएको छ। हामीले त्यो रकम कसरी सहयोग गर्ने भनेर निती र योजनामा फोकस गरिरहेका छौ। नेपाली कामदार हितको लागि युएन वोमन, वाल्क फ्री र आईएलओ जस्ता संस्थाहरुसंग मिलेर काम गरिरहेका छौं। अब चाडै नै राम्रो नतिजा देखा पर्ने छ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ कि?
मैले त्यहाँ ब्यानर राख्नु मेरो सानो प्रयास थियो। म नेपाली कामदारहरुको दुर्दशाको बारेमा जानकारी राख्ने गर्छु र आप्रवासी श्रमिकको समस्या र सुरक्षा ग्यारेन्टी सरकारले गरोस् भन्ने चाहन्छु। मैले व्यक्तिगत रुपमा आफूले सकेको गरिरहेकी छु र गरिरहने छु। यो हाम्रो अभियानलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन चाहन्छौं। हाम्रो अभियानलाई सबै नेपालीहरुले साथ् दिन पनि आग्रह गर्दछु।



.















Comments

comments