बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग लिएर काम थालेको छ।

घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षक कमाण्डको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधि अवलम्बन गरिएको बताए।

प्रहरी उपरीक्षक शाहीले भने, “सिआइबी सुर्खेत पुगेर अनुसन्धान थालेको छ । ‘पोस्टमार्टम’ रिपोर्ट अनुसन्धानको पाटोमा प्रहरी सक्रिय र गम्भीर भएर लागेर प्रारम्भिक अनुसन्धान भइसकेको छ । धेरै रिपोर्ट आइसकेको छ । मोबाइल पनि डिजिटल फोरेन्सिक ल्याबमा पठाइसकिएको छ । सन्दिग्ध र पीडित दुवैको मोबाइललगायत विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलित प्रमाण थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ।”

केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिलोजिकल र वायो सेरोजिलिकल परीक्षणका लागि पठाइएको बताउँदै प्रहरी उपरीक्षक शाहीले त्यो रिपोर्ट आएपछि ‘पोस्टमार्टम’ र प्रयोगशालाबाट आउने रिपोर्टको तुलना गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए । उनका अनुसार यसका लागि छुट्टै टोली जिल्ला प्रहरी कार्यालयमा गठन गरिएको छ।





Comments

comments

137521