‘मलाई नसोध कहाँ दुख्छ घाउ…!’

काठमाडौं: विसं २०२० को दशकमा झापामा भएको साहित्यिक गोष्ठीमा आसामबाट साहित्यकार हरिभक्त कटुवाल आएका रहेछन्।

दिग्गज साहित्यकारको भीडमा पातला कदका हरिभक्तले ‘जन्मिँदा आमाको दूध चुसेँ, ठूलो भएपछि आफ्नै रगत चुसेँ’ भन्ने भावको कविता सुनाएर आफ्नो दुब्लो ज्यान देखाएछन्।

उनको मीठो कविता र शैलीले प्रभावित केदारमान व्यथितले उनलाई काठमाडौं बोलाए। त्यसपछि सुरु भयो, काठमाडौंमा हरिभक्तका संघर्षका दिन।

हरिभक्तसँग लामो संगत गरेका साहित्यकार नगेन्द्रराज शर्माले उनको ८०औं जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा हरिभक्तसँगका यस्तै केही रोमाञ्चक प्रसंग सुनाए।

‘कवि हृदय र फराकिलो मन भएका हरिभक्त प्रज्ञाको जागिरे जीवनमा टिक्न सकेनन्’, नगेन्द्रले सम्झिए, ‘केही समयमै राजीनामा दिए।’

साहित्यकार हरिभक्त कटुवाल
महिनौंसम्म उनको राजीनामा स्वीकृत नगरेका व्यथितले एउटा साहित्यक जमघटमा प्रज्ञाप्रतिष्ठानमा अब यसो गर्ने, उसो गर्ने भनेर योजना सुनाउन थालेछन्।

त्यही क्रममा हरिभक्तले प्याच्च भनेछन्, ‘मेरो एउटा राजीनामा स्वीकृत गर्न नसक्नेले के पो गर्न सक्नुहोला र? ‘

त्यसको भोलिपल्टै हरिभक्तको राजीनामा स्वीकृत भएको प्रसंग पनि नगेन्द्रले सुनाए। अन्नपूर्णपोष्टमा समाचार छ।

रोगले थलिएका हरिभक्तलाई आसाम जाने अपरिचित सहयात्रीको साथमा नाइट बस चढाएर पठइएको केही समयमा उनको निधन भएको खबर सुन्नु परेको दुःखद प्रसंग पनि उनले स्मरण गरे।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले हरिभक्त विचित्र प्रतिभा भएका कवि भएको बताए । ‘उनी विश्वविद्यालयमा हुने साहित्यिक कार्यक्रमका आकर्षण हुन्थे’, विष्णुविभुले सम्झिए।

हरिभक्त दिउँसो रत्पार्कतिर कतै बस्दा रहेछन्। अशेष मल्ल र विष्णुविभु एक दिन त्यो बाटो हिँड्दै गर्दा हरिभक्तले बोलाएछन् र उनको कोठामा लगेछन्।

विष्णुविभुले सम्झिए, ‘त्यहाँ उनले एउटा चार लाइन गीत लेखिएको देखाए।’ त्यो गीतमा पछि अरू हरफ थपेपछि नारायणगोपालको स्वरमा चर्चित बन्यो। गीत थियो, ‘मलाई नसोध कहाँ दुख्छ घाउ…।’

काठमाडौंमा धेरै दुःखकष्ट भोगेका हरिभक्तको विषयमा बनेको वृत्तचित्र ‘अनि हरिभक्त पर्किएनन्’ प्रदर्शन पनि गरियो।

वृत्तचित्रमा उनले बाल्यकाल बिताएका आसामका विभिन्न ठाउँका उनका आफन्त र चिनजानका मान्छे, काठमाडौंमा उनीसँग संगत गरेका साहित्यकार तथा हरिभक्तका छोरीसँग गरिएका कुराकानी समेटिएको छ।

पुरु लम्सालद्वारा निर्देशित वृत्तचित्रमा हरिभक्तका जीवनका धेरै जानकारी समेटिएको छ। हरिभक्तले नेपाली साहित्यको धेरै सेवा गरे।

उनी आर्थिक अभावमा बाँच्नु परेको, नेपालबाट रोग, भोक, मदिराको कुलत बोकेरे आसाम फर्किनु परेको अवस्था वृत्तचित्रमा छ।

कार्यक्रममा रावत, सन्ध्या पहाडी, सोझो गाउँले, शकुन्तला जोशी, आरएम डंगोल, उषा शेरचन, सौरभ कार्की, एलबी क्षेत्री, मोमिला, नवराज पराजुली, आरके अदिप्त गिरी, रामगोपाल आशुतोष, प्रोह्लास सिन्धुलीयलगायतले हरिभक्तका चर्चित कविता सुनाएका थिए।
– See more at: http://www.annapurnapost.com/News.aspx/story/14390#sthash.4BjJ1gC8.kXDbBHXk.dpuf

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7323